शीर्षकहरू

एकै वर्ष भित्रिए ११ हजार ७०१ विद्युतीय कार

एकै वर्ष भित्रिए ११ हजार ७०१ विद्युतीय कार

काठमाडौं । गत आर्थिक वर्षमा हालसम्मकै उच्च संख्यामा विद्युतीय कार भित्रिएका छन् । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँका ११ हजार ७०१ वटा विद्युतीय कार भित्रिएका छन् ।

अघिल्लो आव २०७९/८० मा ४ हजार ५० वटा मात्रै विद्युतीय कार आयात भएका थिए । 

वि.सं. २०५५ देखि नेपालमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण सुरु भए पनि विद्युतीय कार भित्रिन त्यसपछि एक दशकभन्दा बढी समय लागेको थियो । २०६७ मा पहिलोपटक महिन्द्राले विद्युतीय कार रेभा भित्राएसँगै नेपालमा विद्युतीय सवारीसाधनको बहस सुरु भएको थियो । यद्यपि, त्यसबेला धेरैको आकलन नेपालमा विद्युतीय सवारी उपयुक्त नहुने र यसले बजार पनि नलिने भन्ने थियो ।

तर पछिल्लो आयात तथ्यांक हेर्दा विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध धावा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीको आयात निरन्तर घट्दै जाँदा विद्युतीय गाडीको आयात भने द्रूतरुपमा उकालो लागेको हो ।

चालु आर्थिक वर्षमा सरकारले विद्युतीय गाडीको कर बढाउन लागेको पूर्वसूचना पाएका व्यवसायीहरूले वैशाख र जेठमा ठूलो मात्रामा विद्युतीय कार भित्र्याएका थिए ।

भन्सार विभागका अनुसार गत आवमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका छ हजार ८८५ वटा कार भित्रिएका छन् । त्यसपछि ५० किलोवाट मुनिका कारको संख्या चार हजार ५७१ रहेको छ ।

यस्तै १०१ देखि २०० किलोवाटका २१७ र २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय कार गत आवमा आयात भएका छन् । ३०० किलोवाटभन्दा माथिको कार भने एउटा मात्रै ल्याइएको छ ।

ती कारहरूबाट सरकारले १३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।