शीर्षकहरू

नयाँ बीमा कम्पनीको व्यवसाय वृद्धि, जीवनमा १ खर्ब ५६ अर्बको कारोबार

जीवन बीमामा कुल १ खर्ब ५६ अर्बको कारोबार

नयाँ बीमा कम्पनीको व्यवसाय वृद्धि, जीवनमा १ खर्ब ५६ अर्बको कारोबार

काठमाडौं । आर्थिक शिथिलताका बीच गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ९.७० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत आवको तथ्यांकले यस्तो देखाएको हो । 

हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । उनीहरुले अघिल्लो आव २०७९/८० मा ३१ अर्ब २३ करोड ८४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क संकलन) गरेका थिए । गत आवमा उनीहरुले ३४ अर्ब २७ करोड १० लाख रुपैयाँ प्रथम बीमाशुल्क उठाएका छन् । त्यस भित्र ७ अर्ब ६ करोड ४३ लाख रुपियाँ एकल बीमाशुल्क रहेको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले आम मानिसको बीमा गर्ने क्षमतामा कमी आएको छ । गत आवको सुरुवाती समयमा बीमा व्यवसायमा शिथिलता नै देखिएको थियो । त्यसका बाबजुत पनि गत आवमा नयाँ जीवन बीमा व्यवसायमा वृद्धि देखिएको हो । 

नयाँ कम्पनीहरुले नयाँ क्षेत्रमा व्यवसाय खोज्ने र नयाँ कम्पनीहरुको व्यवसायको पोर्टफोलियो पनि सानो भएकाले थोरै बढ्दा पनि प्रतिशतमा धेरै देखिएको सानिमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे बताउँछन् । 

जीवन बीमामा कुल १ खर्ब ५६ अर्बको कारोबार
समिक्षा वर्षमा जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय भने १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यो अघिल्लो आवको तुलनामा ९.८० प्रतिशतले बढी हो । अघि आव  २०७९–८० मा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ यस्तो शुल्क संकलन गरेका थिए । 
बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । गत आवमा उक्त कम्पनीले ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

दोस्रो स्थानमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवमा उक्त कम्पनीले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ  बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सुर्य ज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ छ । सिटीजन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ । 

 सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

 आईएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ अर्ब ३७ करोड २४ लाख रुपैया, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब २० करोड ८२ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 


तीन कम्पनीको व्यवसाय चुक्तापुँजीभन्दा पनि कम 
गत आवमा ३ जीवन र १ निर्जीवन गरेर चार कम्पनीको व्यवसाय चुक्तापुँजीभन्दा पनि कम देखिएको छ । जीवन बीमा तर्फ आईएमई लाइफ, रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफको व्यवसाय चुक्तापुँजी भन्दा कम छ । आईएमई लाइफको पाँच अर्ब, रिलायवल नेपाल लाइफको ४ अब ६४ करोड र सन नपाल लाइफको ३ अर्ब ९६ करोड रुपैयाँ चुक्तापुँजी छ । तर, आईएमई लाइफले चुक्तापुँजी भन्दा २५ करोड ८७ लाख कम अर्थात्  ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँको कारोबार गरेको छ । 

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले चुक्तापुँजी भन्दा ४३ करोड १८ लाख रुपैयाँ कम अर्थात् ४ अर्ब २० करोड ८२ लाख रुपैयाँ र सन नेपाल लाइफले चुक्तापुँजी भन्दा ७ करोड ६२ लाख रुपैयाँ कम अर्थात् ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।