शीर्षकहरू

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद साउन २७ गतेदेखि विक्री खुला हुने

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद साउन २७ गतेदेखि विक्री खुला हुने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन १ गते बुकक्लोज गरिसेको छ । यस कम्पनीको हकप्रदमा भाग लिनका लागि असार ३१ गतेसम्म शेयर हुने मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ ामात्र छ। हकप्रद निष्काशनपछि कम्पनीको  चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ आँखुखोला कम्पनीले नै प्रवद्धन गरेको गणेश हिमाल हाइड्रोपावर कम्पनी सहित २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्ने उल्लेख गरेको छ । बाँकी ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानीमा खर्च गर्ने छ ।