शीर्षकहरू

भारतभन्दा नेपालमा सुन तोलामै ४३ हजार महँगो, तस्करी शुरु भइसकेको व्यवसायीको आशंका

भारतभन्दा नेपालमा सुन तोलामै ४३ हजार महँगो, तस्करी शुरु भइसकेको व्यवसायीको आशंका

काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधाभन्दा बढीले घटाएको छ ।  यसअघि भारतमा सुन आयात गर्दा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । गत मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भन्सार दर ६ प्रतिशत कायम गरिएको बताइन् ।

यसअघि नै नेपालभन्दा भारतमा सुन सस्तो रहेकोमा भन्सार दर घटेसँगै त्यहाँ अझै सुन सस्तिने सम्भावना बढेको छ । नेपाल सरकारको भन्सार नीतिका कारण पनि नेपालमा सुनको मूल्य भारतभन्दा कम्तिमा ३५ हजार रुपैयाँसम्म महँगो पर्ने देखिन्छ ।

गत जेठ १५ गते पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुनमा लाग्दै आएको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएका थिए । सरकारको उक्त कदमसँगै यसअघि भारतबाट चिनी, लत्ताकपडाजस्ता सामान तस्करी हुने गरेकोमा सुन तस्करीको नयाँ गन्तव्य भारत पनि हुने आशंका गरेका थिए ।

हालै भारतले भन्सार दर ह्वात्तै घटाएपछि भारतमा अझै सुनको मूल्य घट्ने देखिन्छ । यसअघि नै पनि भन्सार दरका कारण तोलामा २८ हजार रुपैयाँसम्म भन्सार थप तिर्नुपर्ने हुँदा स्वत: नेपालमा सुनको मूल्य बढेको व्यवसायीहरूले बताउँदै आएका थिए ।

शुक्रबार नेपालमा छापावाला सुन प्रतितोला एक लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ४०० र तेजाबी सुन एक लाख ४६ हजार ७०० मा कारोबार भएको थियो ।

जबकि भारतमा बिहीबार छापावाल सुन प्रतितोला ६९ हजार १५० र तेजाबी सुन प्रतितोला ६३ हजार ३४० भारु रहेको छ । जसको नेपाली मूल्य क्रमश:  १ लाख १० हजार ६४० र १ लाख १ हजार ३४४ रुपैयाँ हुन जान्छ । आज मात्रै भारतमा भन्दा नेपालमा सुनको मूल्य ३५ हजारदेखि ४३ हजारसम्म महँगो देखिएको छ ।

बजेट भाषणपछि मंगलबार साँझदेखि भारतमा सुनको मूल्य निरन्तर घट्दै गएको छ । बुधबार भारतमा सुनको मूल्य प्रतितोला ६९ हजार ६०२ र मंगलबार साँझ ६९ हजार १९४ भारतीय रुपैयाँ थियो ।

 

तस्करी शुरु भैसकेको व्यवसायीको आशंका

खुला सीमानाकाका कारण भारतबाट नेपालतर्फ खुद्रा चिनी, लत्ताकपडा, बीउँबीजकजस्ता स–सानो मूल्यका सामान समेत तस्करी हुँदै आएका छन् । नेपालतर्फ सुन तस्करी हुने प्रमुख मुलुकहरूमा दुबई, कतार, हङकङ र चीन रहे पनि भारतबाट भने हालसम्म तस्करी भएको देखिँदैन थियो । तर पछिल्लो दुई महिनायताको परिवर्तनसँगै अब सुन तस्करीको रुप भारत पनि बन्ने व्यवसायीहरूको आशंका छ । यसअघि नै नेपालमा सुन तस्करी शुरु भइसकेको शंका व्यवसायीहरूको छ । 

'तीनतर्फ खुला नाका भएकाले भारतभन्दा नेपालमा सुन महँगो भएकाले तस्करीको जोखिम बढेको छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तनमान अध्यक्ष मणिकरत्न शाक्यले भने, 'दुई चार पैसाका लागि तरकारीदेखि कपडासम्म ओसारपसार हुने कुरा जगजाहेर छ । भारतले भन्सार दर घटाउनुअघि नै नेपालमा बजेट सार्वजनिक भएयता नै सुनको मूल्यअन्तर ठूलो रहेकाले यसअघि नै तराई क्षेत्रमा सुनचाँदीको तस्करी भइरहेको सुनिरहेका छौँ ।'

सस्तोमा सुन पाएको भन्दै तराई क्षेत्रमा अन्य सुनको कारोबार भइरहेको पनि सुन्नमा आएको उनले बताए । 'तराईका जिल्लामा सुन पाँच-छ हजार सस्तोमै पाइन्छ भन्ने हामीले सुन्दै आइरहेकै छौँ, त्यो वैध होइन,' उनले भने । अझै पनि सरकार चुप लागेर बसे यहाँको अर्थतन्त्र अझै बिग्रिने चिन्ता उनले व्यक्त गरे ।

सरकारले तुरुन्त सरोकारवाला निकायसँग छलफल गरी नयाँ नीति लिनुपर्ने भनाइ उनको छ । 

नयाँ सरकार गठनपछि सुनचाँदी व्यवसायीहरुले केही दिनअघि अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अहिलेको अवस्थाबारे पनि व्यवसायीहरूले जानकारी गराएका थिए । अर्थमन्त्री पौडेलले यस विषयमा अध्ययन गर्ने बताएका थिए ।