शीर्षकहरू

नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका १० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका ८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी रहेका छन् ।

बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सिट कभरभित्र लुकाई राखेको उक्त नक्कली नोट फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैबीच भारत सितामढी बैरगनिया ८ असोगी टोल बस्ने ४७ वर्षीय प्रदिप कुमार बर्मालाई स्रोत नखुलेको नगद ४ लाख ४० हजार रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका १ स्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसि ७९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरका ३ सय ९० थान र ५ सय दरका १ सय थान गरी उक्त नगद सहित चालक बर्मालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।