शीर्षकहरू

अहिलेसम्मकै लचक मौद्रिक नीति आयो: कोइराला

अहिलेसम्मकै लचक मौद्रिक नीति आयो: कोइराला

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काल लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।    

चालू आर्थिक वर्षको मौद्रिक नीति अहिलेसम्मकै लचक आएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । उनले भने, ‘नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आवको मौद्रिक नीति ल्याएको छ । अहिलेसम्मकै लचक मौद्रिक नीति आएको छ । लगानीमैत्री नीति आयो ।’  

आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिएबमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने मौद्रिक नीतिमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।  

यो प्रक्षेपण पुरा हुने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य १२.५ प्रतिशत राखेको छ । निर्माण व्यवसायीलाई सहज हुने खालको मौद्रिक नीति आएको छ । यसले गर्दा समग्र अर्थतन्त्र चलायमान हुन्छ । निर्माण क्षेत्रमा बैंकहरुको लगानी बढ्छ । कर्जा प्रवाहको लक्ष्य भेट्टाउन सकिन्छ ।’ 

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्ज‘मा गरी नेपाल सरकारसमक्ष पेश गरिने जनाएको छ । 

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्दा अर्को वर्षदेखि बैंकहरुले फाइदा दिन सक्ने उनको तर्क छ । कोइरालाले भने, ‘यस्तो कम्पनी स्थापना गर्दा बैंकहरुलाई कुनै असर पर्दैन । बरु अर्को वर्षदेखि बैंकहरुले फाइदा लिन सक्छन् ।’