शीर्षकहरू

ओटीसी बजारमा केएमसीको यति धेरै कित्ता शेयर कसले किन्यो ?

ओटीसी बजारमा केएमसीको यति धेरै कित्ता शेयर कसले किन्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओभर दी काउन्टर (ओटीसी) मार्फत काठमाडौं मेडिकल कलेजको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । ३७ हजार ८६८ कित्ता शेयर प्रति कित्ता दुई सय रुपैयाँ  र एक लाख १० हजार ८०१ कित्ता शेयर प्रतिकित्ता तीन सय रुपैयाँमा विक्री भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड कम्पनी हो भने यसका सञ्चालक नेपाली काँग्रेसका नेता तथा सांसद सुनिल शर्मा हुन ।

गत आर्थिक वर्षमा मात्रै ओटीसी बजारमा  ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्सेको तथ्यांकअनुसार गत वर्ष ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको कारोबार भएको छ । गत आर्थिक वर्षमा ओटीसी बजारमा विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयर कारोबारबाट उक्त रकम बराबरको कारोबार भएको हो ।

ओटीसी बजारमा वल्र्डलिंक कम्युनिकेसनको शेयर सबैभन्दा बढी ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै लर्ड बुद्ध एजुकेसन एकेडेमीको  ४ हजार ५८३ कित्ता सेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ । लर्ड बुद्धको प्रतिकित्ता ५४० रुपैयाँमा सेयर कारोबार भएको छ ।

ओटीसी मार्केट के हो ? 
नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि शेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ । हालसम्म ओटीसी बजारमा २४४ ओटा कम्पनी दर्ता भई कारोबारमा रहेका छन ।

 मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । सूचीकरण खारेजी भएका कम्पनीको शेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको थियो । उक्त विनियामवलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुटै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबर हुने गर्छ ।