शीर्षकहरू

पटक-पटक म्याद थप्दा पनि बनेन नारायणगढ–बुटवल सडक, ठेकेदारको लारबाहीले यात्रुलाई सास्ती

पटक-पटक म्याद थप्दा पनि बनेन नारायणगढ–बुटवल सडक, ठेकेदारको लारबाहीले यात्रुलाई सास्ती

भैरहवा । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धूलाम्मे । यात्रु र स्थानीयको टाउको दुखाइ बनेको छ– नारायणगढ–बुटवल सडक । 

५ वर्षअघिसम्म यस्तो सास्ती थिएन । सडकको चौडाइ सानो थियो, तर सुलभ थियो । यतिबेला सडक चौडा बनाइरहँदा  सडकको नामै फेरिए जस्तो भएको छ हिलाम्मे–धूलाम्मे सडक ।

पहिले नारायणगढबाट बुटवल यात्रा २ घण्टामा सहजै पार गरिने नारयणगढबाट-बुटवल यात्रा सहजै पार हुन्थ्यो । यतिबेला ५ घण्टामा पार लगाउन कठिन छ  । दुई पाङ्ग्रे सवारीमा सवार यात्रु चिन्ने नसकिनेगरी भेटिन्छन्  । चारपाङ्ग्रेमा हिँड्नेहरुको हालत पनि कम पीडादायी छैन । चाहे दुई पाङ्ग्रे होस् या चार पाङ्ग्रे, अथवा सार्वजनिक यातायातका यात्रु, आजकल उक्त सडक खण्डमा यात्रा गर्न नपरे हुन्थ्यो भन्ने धेरै भेटिन्छन् ।

तिनैमध्ये एक हुन्  कमलकान्त पौडेल । उनी समयमा सक्नुपर्ने काम सरकारी इच्छाशक्तिको कमीले ढिलो भएको हुँदा सास्ती बेर्होनु परेको बताउँछन् । काठमाडौं जान लागेका केदार कुवँर पुरानो बाटोलाई भत्काएर नयाँ राम्रो बाटो निर्माण गर्ने योजना भएता पनि न त पुरानो बाटो रहेको न त नयाँ बाटो बनेको हुँदा हिलो, धुलो र खाल्डा खुल्डीमा यात्रा गर्न बाध्य भएको बताउँछन् ।

रिक्सा चालक भरत न्यौपानेले नारायणगढ बुटवल सडकको अवस्था निकै जीर्ण हुँदा कति पटक यहाँ आउने सवारी साधन पल्टिने गरेको बताए । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुँदा पनि प्राय: दुर्घटना हुने  उनको भनाइ छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेका विजय घिमिरे विगत ५ वर्षदेखि यो बाटो जीर्ण हुँदा धूलो र हिलो बाटोमा यात्रा गर्न निकै कठिन भएको बताउँछन् ।  

यस्तै स्थानीय होमनाथ शर्माले बाटो नबन्दा दुर्घटनाको जोखिम बढ्ने हुँदा सरकारले ठेकेदारलाई तत्काल कामको गति बढाउन निर्देशन दिनुपर्ने बताए ।

एसियाली विकास बैंकको १६ अर्ब ९९ करोड ५२ लाख लागतमा विस्तार हुन लागेको नारायणगढ–बुटवल सडक आयोजनाको काम वि.सं. २०७५ पुस ४ गते निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । २०७५ माघ २४ गतेबाट काम शुरु भएकोमा २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौता थियो । निर्माण व्यवसायीले कोभिड १९ को कारणले निर्माण सामग्री अभाव देखाउँदै २०८० साउन २१ गतेलाई समय थप गरे ।

तर एक वर्षका लागि थपिएको समयले काम पूरा हुन सकेन । दोस्रो चरणको म्याद २०८१ साउन ६ गतेसम्मका लागि थपियो । निर्माण सम्पन्न गर्ने मितिले दुई पटकसम्म म्याद थप्दा ५२ प्रतिशत मात्रै काम भएको छ । नारायणगढ–बुटवल सडक खण्ड दुई भागमा विभाजन गरिएको छ ।

११३ दसमलव ५ किलोमिटर सडकको लागि करिब १७ अर्ब एसियाली विकास बैंकबाट ऋण लिएर काम गर्न थालिएकोमा पश्चिम खण्डमा ७.८६ अर्ब लगानी हो । पश्चिम खण्डमा ४८.५ किलोमिटर रहेको छ । उक्त सडक खण्डमा ९ ओटा ठुलो पुल निर्माण गर्नु पर्ने थियो । अहिले सम्म ६ ओटाको निर्माण कार्य सकिएको छ भने ३ ओटा निर्मार्णाधिन अवस्थामा छन् ।

सानो पुल ३८ ओटा छन् । जसमध्ये ३५ ओटाको निर्माणकार्य सकिएको छ भने ३ ओटा पुलको काम सुरु नै गरिएको छैन । २४५ ओटा बक्स कल्भट छन् जस मध्ये २०१ ओटा मात्रै निर्माण भएका छन् । स्ट्याब कल्भट ९ ओटा मध्ये ६ ओटा निर्माण भएका छन् भने ३ ओटाको काम सुरु नै गरिएको छैन । दाउन्नेदेखि बुटवल सम्मको सडक एकतर्फी ४८.५ किलोमिटर छ । पश्चिम खण्डको दुवैतर्फको सडक ९७ किलोमिटर हुन्छ । जसमध्ये ३०.५ किलो मिटर सडक पिच भइसकेको छ । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर खण्डलाई पूर्वी खण्ड भनिएको छ ।  पूर्वी खण्डको दुवै तर्फ जोड्दा १२८.८४ किलोमिटर हुन्छ । जसमध्ये अहिले सम्म ३३ किलोमिटर मात्रै कालोपत्रे बनेको छ ।

सडक समयमै पुरा नहुँदा यात्रुहरु र आम सर्वसाधरण जस्तै यातयात व्यवसायीहरु पनि मर्कामा पर्ने गरेका छन् । यातायात व्यवसायी तथा लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले बाटोका कारण देश व्यापिरुपमा सेवा प्रदान गर्दै आएका यातायात व्यवसायीले समस्या भोग्नु परेको बताए । उनले मुलुकमा ६०१ नेता पाल्दा आर्थिक अवस्था भार परिरहेको बताए ।

स्थानीय, यात्रु, आम नागरिक र यातायात व्यवसायीले सास्ती भोगिरहेको भएता पनि निर्माणको जिम्मा लिएको ठेकेदारलाई सही समयमा सही ढंगले काम गराउने म्याडेट पाएको कन्सल्टेन्सीका प्रतिनिधिले विगतको कामको समीक्षा गर्दै आगामी दिनमा कामलाई द्रूत गतिमा गराउने बताएका छन् । केईसीसी कोरियाली कन्सल्टेन्ट शशि श्रेष्ठले आगामी दिनमा ढिलासुस्ती नहुने प्रतिबद्धता व्यक्त गरे ।

निर्माण व्यवसायीले ठेक्का लिएपछि समयमै काम सम्पन्न गर्न नसक्दा यस सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ भने गाडी धनीहरुलाई गाडी बिग्रने र दुर्घटना बढ्ने डर छ । ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनले समयमै काम नगर्दा यो सडकको यात्रा निकै कष्टकर छ ।

२०७९ कात्तिक ५ गते तत्कालिन सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका थिए । उनले यो सडक खण्डमा कामको गति ज्यादै कम भएको र पटक पटक आग्रह गर्दा पनि काममा कुनै प्रगति नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको जानकारी गराए तर कारबाही गर्न सकेनन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बनाइनेछ । दाउन्ने पहाडको करिब ५ किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।