शीर्षकहरू

शेयर बजारको आधा आकाश: ब्रोकर नम्बर ४१ की सरिता

शेयर बजारको आधा आकाश: ब्रोकर नम्बर ४१ की सरिता

सरकार परिवर्तनसँगै उत्साह थपिएको शेयर बजार पछिल्लो मौद्रिक नीति पछि अहिले गुलजार बनेको छ । साताका पाँच कारोबार दिन आइतबारदेखि बिहीबारसम्म हुने शेयर कारोबारको रकम अहिले सरदार १५ अर्बको हाराहारीमा छ । यी सबै कारोबारको थलो हो, ब्रोकर अफिस । हो, त्यही शेयर ब्रोकरको हुलमा एक महिलाको नाम चर्चित छ । त्यो हो, सरिता अधिकारी विष्ट ।  

हुनत शेयर ब्रोकरको कार्यालयमा सो सम्बन्धी काम गर्ने महिलाहरुको सङ्ख्या थपिँदै पनि छ । तर, नेतृत्व मै बसेर कम्पनी हाँकिरहेका भने खासै भेटिँदैनन् । त्यसैले अरूभन्दा फरक छिन्, विष्ट ।       

वि. स. २०६४ सालमा शेयर बजारमा पाइला टेकेकी उनी लिन्च स्टक मार्केट लिमिटेड अर्थात् ‘ब्रोकर नम्बर ४१’ को नेतृत्व सम्हालिरहेकी छिन् ।  त्यसबेला ब्रोकर लाइसेन्सको परीक्षामा सातौँ नम्बरमा नाम निकालेकी उनी पुरुषहरूले जसरी महिलाले पनि नेतृत्व गरेर ब्रोकर कम्पनीहरू सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण बनेकी हुन् ।     

चाहन्थिन डाक्टर बन्न तर बनिन् ब्रोकर  

वि. स. २०३४ साल पुष १ गते भैरहवामा जन्मिएकी हुन्, उनी । त्यसबेला पुष १ गते पञ्चायत दिवस मनाइन्थ्यो । त्यसैले उनलाई पञ्चायत दिवस भनेर बोलाउने गर्थे, आफन्तहरूले । ‘पञ्चायत दिवसको दिन जन्मिए । मलाइ धेरैले के छ पञ्चायत दिवस भनेर बोलाउनु हुन्थ्यो’, उनी बाल्यकाल सम्झिन्छिन्  ।  

घरकी कान्छी छोरी उनका दुई दिदी र दुई भाइहरू छन् । सानै छँदा परिवार भैरहवाबाट काठमाडौं बसाइ सरेर आयो । पढाइको कुरा गर्ने हो भने त्यसबेला छोरीहरूलाई खासै पढाउने चलन नरहेको उनी सुनाउँछिन् । तर, सरिताले भने महेन्द्र भवन उच्च माध्यमिक विद्यालयमा पढ्ने अवसर पाइन् । पढाइमा उनी सानैदेखि अब्बल । गणित त झन् उनको मन पर्ने विषय । गणितमा ९८ नम्बर ल्याउँदा पनि बुवाले ‘के बिगारिस्’ भनेर सोधेको उनको सम्झनामा ताजै छ ।

२०५० सालमा एसएलसी दिइन् । उनले ‘स्कुल टप’ गरिन् । त्यो नतिजाले उनलाई डाक्टर बन्ने रहर जगायो । ‘मलाइ डाक्टर नै बन्ने इच्छा थियो । त्यो बेला फस्ड डिभिजन ल्याएपछि डाक्टर बन्नुपर्छ भन्ने मानिन्थ्यो । म त स्कुल टप गरेको मान्छे डाक्टर बन्नु पर्छ भन्ने माहौल यसै नै बन्ने भइहाल्यो’, उनले सुनाइन् । 

तर, उनले त्यो इच्छा भने पुरा गर्न सकिनन् । उनको आँखामा समस्या देखियो । धेरै मेहनत गर्नु पर्छ, धेरै गाह्रो हुन्छ भनेर उनलाई डाक्टरहरूले सुझाए । त्यसपछि उनी कन्या बहुमुखी क्याम्पस भर्ना भइन् । व्यवस्थापन पढिन् । त्यसमा पनि राम्रो नतिजा ल्याइन् । 

..अनि सुरु भयो पढ्ने, पढाउने दैनिकी 

कलेज पढ्दै गर्दा उनलाई आफू दिउँसोको खाली समय सदुपयोग गर्नु पर्छ भन्ने लाग्यो । दिउँसो पढाउने सोच बनाइन् । सुरुमा उनलाई पढाइ बिग्रिन्छ भनेर काम गर्ने कुरामा परिवारले असहमति जनायो । तर, उनले आफ्नो पढाइलाई कुनै असर नपार्नेगरि पढाउँछु भनेर परिवारलाई सम्झाइन् । त्यसपछि सुरु भयो पढाउने दैनिकी । 

बिहान कलेज जान्थिन, पढ्नका लागि । अनि दिउँसो पढाउनका लागि सेवा सदन स्कुल पुग्थिन् । त्यहाँ उनी भाइस प्रिन्सिपलसम्म भइन् । 

मास्टर्स पढ्दै गर्दा ललितपुरमा उनको विवाह भयो । त्यहाँ पढेलेखेकी बुहारीमध्ये मै पर्थिन, उनी । वि.सं. २०५९ सालमा वैवाहिक जीवनमा बाँधिएकी उनमा पढ्ने, पढाउने कामदेखि बुहारी भएपछि निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि थपियो । उनको श्रीमान् र परिवारको साथले गर्दा उनले ती जिम्मेवारी सहजै निभाइन् ।   

अन्जान मै निस्कियो सात नम्बरमा नाम   

उनका अनुसार शेयर बजारमा लाग्ने उनको सोच नै थिएन । उनले कहिलेकाहीँ आईपीओ भने भर्ने गरेकी थिइन । त्यसबेला लाइन लागेर फर्म भरेर आईपीओ भर्ने चलन रहेको उनी सुनाउँछिन् । सरिता भन्छिन्, ‘यस क्षेत्रमा आउँछु भन्ने मेरो सोच थिएन । लाइन लागेर आइपिओ भरिन्थ्यो कहिलेकाहीँ । तर, त्यसको कारोबार कसरी हुन्छ भन्ने जानकारी नै थिएन ।’   

वि.सं २०६४ सालमा ब्रोकर लाइसेन्स खुल्यो । त्यसबेला उनलाई स्कुलमा संगै काम गर्ने एक जना सहकर्मीले यो लाइसेन्सको लागि आवेदन दिन समूह बनाउन आग्रह गरिन् । त्यसबेला ब्रोकर लाइसेन्सका लागि परीक्षा दिनु पर्दथ्यो । 

‘उहाँ म्यामले एउटा टिम बनाउनु भएको रहेछ । त्यो टिममा राम्रो नम्बर ल्याएर पास भएकाको खोजी गरिरहनु भएको रहेछ । अनि मलाइ उहाँले भन्नु भयो’, उनी सुनाउँछिन्, ‘मैले जानकारी नै नभएको कुरामा अप्ठ्यारो मान्दा हामी टिममा छौँ । तपाइले  धितोपत्र दलालको अनुमति लिनका लागि परीक्षा दिनु भनेर मलाइ लगाउनु भयो । मैले नाइँ भन्न सकिन ।’ 

कहिले नदेखेको बजारमा होमिन उनमा केही डर भने थियो । तर, उनलाई टिममा भएकाहरूले सबै जना मिलेर काम गर्नु पर्छ भनेपछि उनी लाइसेन्सको तयारीमा लागिन् । परीक्षा दिने दिन नजिकै थियो । सोही समयमा उनका श्रीमान् अस्पतालमा थिए । अस्पतालमा कुरुवा बस्दै उनले परीक्षाको तयारी पनि गरिन् । परीक्षा दिइन् । त्यसको नतिजा लगायत सबै प्रक्रिया पुरा गर्दा उनको समूह सात नम्बरमा छानियो ।  

वि.सं २०६४ सालमा परीक्षा दिएर सातौँ स्थानमा पास भए पनि कम्पनी खोलेर कारोबार सुरु गर्न भने सकेनन् । परीक्षा पास भएको चार वर्षपछि मात्र काम गर्ने अनुमति पाए । परीक्षा पास गरेर लाइसेन्स माग गर्दा आन्दोलनसम्म गर्नु परेको उनले सुनाइन् । विसं २०६८ सालमा लाइसेन्स पाएपछि उनको समूहले ब्रोकर अफिस खोलेर कारोबार सुरु गरे ।   

लिन्च स्टक मार्केटको कार्यकारी अध्यक्ष बनिन्, उनी । ‘त्यसपछि बल्ल स्टक के रहेछ भनेर थाहा भयो । यहाँ कसरी काम हुँदो रहेछ भनेर थाहा भयो ।’

हुन त यो कम्पनी सञ्चालन गर्दा १९ जनाको समूह बनाइएको थियो । त्यो समयमा ५० लाख भए नयाँ ब्रोकर कम्पनी खोल्न सकिन्थ्यो । तर उनको समूहले डेढ करोडको पुँजी जुटाएर कम्पनी स्थापना गरेको थियो । जसको १० प्रतिशत लगानी सरिताले गरेकी थिइन् । 

आफ्नै कमाइबाट लगानी 

सरिताले यो कम्पनीमा गरेको लगानी आफैले कमाएको पैसाबाट गरेकी हुन् । ‘यहाँ मैले गरेको लगानी घरपरिवारले कमाएको सिड मनि होइन । मैले आफैले गरेको मेहनतको कमाइ हो’, उनले भनिन् ।   

कम्पनीको लाइसेन्स लिनेदेखि हालसम्म उनले यो कम्पनीको नेतृत्व गरेर नै सञ्चालन गरिरहेकी छिन् । कम्पनी सुरु गर्दा कार्यकारी अध्यक्ष रहेकी उनी प्रबन्धक सञ्चालक हुँदै हाल प्रमुख कार्यकारी अधिकृत रहेर व्यवसायलाई अगाडी बढाइरहेकी छिन । पुरुषहरूको वर्चस्व रहेको शेयर बजारमा उनले आफ्नो व्यवसायलाई सशक्त र प्रतिस्पर्धी ढङ्गले अघि बढाइन् । उनी स्टक ब्रोकर एसोसिएसन नेपाल (एसबान)का उपाध्यक्ष समेत हुन् ।  

यो कामसँगै उनले अझै पनि शिक्षण पेशालाई निरन्तरता दिइरहेकी छिन् । बिहानको समयमा उनी कलेज पढाउन जान्छिन् । १० बजेदेखि साँझ ७ बजेसम्म कम्पनीमा खटिन्छिन् । बिहान ६ बजेदेखि काममा निस्किएकी उनी साँझ ७ बजेसम्म सक्रियरुपमा काम गरिरहेकी छिन् ।  

कम्पनीले हाल २२ जनालाई रोजगारी दिएको छ । कम्पनीको बुटवलमा शाखा पनि छ । त्यो शाखा हाँक्ने सबै महिला कर्मचारी छन् । ‘महिलाले मात्रै पनि सञ्चालन गर्न सक्छन् भनेर नै हामीले त्यहाँ उहाँहरूलाई मात्रै राखेका छौँ । राम्रो चलिरहेको छ । महिलाहरूले मात्रै नेतृत्व गरेर राम्रोसँग चलाउन सकिन्छ भन्ने सन्देश दिएका छौँ’, उनले भनिन् । 

जोखिम लिन सक्षम छन् महिला   

शेयर बजारमा महिलाहरूको सहभागिता विस्तारै बढ्दैछ । प्रविधिको विस्तारसँगै शेयर बजारमा महिलाहरूको सहभागिता बढ्दै गरेको छ । तर, यो पर्याप्त नभएको उनी बताउँछिन् । 

सरिता भन्छिन्, ‘पहिलेको तुलनामा शेयर बजारमा महिलाहरूको सहभागिता बढ्दो छ । तर, यो पर्याप्त भने छैन । अझै पनि धेरै जना आईपीओ मात्रै भर्नेहरू हुनुहुन्छ । त्यो पनि घरको पुरुष सदस्यले आईपीओ पार्नका लागि खाता खोलेर किन्ने बेच्ने गरेका छन् ।’

दोस्रो बजारमा पनि पहिलेको तुलनामा महिलाहरूको सहभागिता बढेको छ । तर, पोर्टफोलियो चलाउने काम परिवारको पुरुष सदस्यले गरेको पाइन्छ । महिलाहरू आफैले निर्णय गर्न हिचकिचाउने भएकाले दोस्रो बजारमा अझै पनि महिला सहभागिता पर्याप्त नभएको उनी सुनाउँछिन् । 

कतिपय डिम्याट खाताहरू महिलाको नाममा पुरुषले चलाइरहेको हुनसक्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘कतिपय परिवारका पुरुष सदस्यहरूले महिलाहरूको नाममा डिम्याट खोलेर कारोबार गरिदिएको पनि हुनसक्छ । नाम महिलाको स्वामित्व पुरुषको हुनसक्छ ।’  

महिलाहरूले जोखिम लिन सक्दैनन् भन्ने बुझाइ रहेको बताउँदै उनी अगाडी भन्छिन्, ‘दोस्रो बजार भनेको जोखिम लिने ठाउँ भयो । आज आएको भोली हराइरहेको हुन्छ । वित्तीय कुराहरूमा महिलाहरू आफैले निर्णय गर्न हिचकिचाइरहेका हुन्छन् । निर्णय तहमा उनीहरू पुरुषको भर पर्ने गर्छन् । यसले गर्दा दोस्रो बजारमा कारोबार गर्ने महिलाहरू धेरै छैनन । तर, आँट गर्नुपर्छ महिलाहरूले पनि जोखिम लिन सक्छन् ।’   

शेयर बजारमा महिला सहभागिता बढाउन जोड दिँदै उनी भन्छिन्, ‘महिला आफै सक्षम भएर शेयर कारोबार गर्नु एकदमै राम्रो हो । उनीहरू आर्थिकरुपमा सक्षम पनि बन्दै जान्छन् । वित्तीय साक्षरता बढाउने हो भने यो सङ्ख्या अझै बढ्दै जान्छ ।’    

सुरक्षित लगानी गर्ने हो भने त्यसले सफलता दिने उनको तर्क छ । तर, शेयर बजार प्रतिको बुझाइ फरक हुने गरेको उनले गुनासो गरिन् । अधिकारी  भन्छिन्, ‘शेयर बजारबारे नेतृत्व तहमा समेत बुझाइ कम छ । यो जुवाघर हो भन्ने गरेका छन् । यसलाई लङ टर्म इन्भेष्टमेन्टका रूपमा लिने हो भने कहिले पनि पछाडि फर्केर हेर्नु पर्दैन ।’    

मुलुकको आर्थिक विकासको लागि आवश्यक पुँजी परिचालन गर्न शेयर बजारको विकास हुनुपर्ने उनको भनाई छ । शेयर बजारबिना देशको विकास सम्भव नरहेको बताउँदै उनी अगाडी भन्छिन्, ‘लगानीकर्ता नहुने हो भने कुनै पनि मुलुकको आर्थिक विकास हुँदैन । ठूला ठूलो उद्योगधन्दा, कलकारखाना चलाउन पुँजी चाहिन्छ । त्यसका लागि पुँजी बजार आवश्यक छ ।’