काठमाडौं । अहिले शेयर बजारको चर्चा व्यापक छ । सरकार परिवर्तनसँगै उत्साह थपिएको शेयर बजार पछिल्लो मौद्रिक नीति पछि गुलजार बनेको छ । शेयर बजारले नयाँ नयाँ रेकर्ड पनि कायम गरिरहेको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनायो । एकैदिन २१ अर्ब ९१ करोड १५ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते आइतबार नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्यो । त्यसको भर्सिपल्ट अर्थात् आइतबारको कारोबारमा नेप्से ११३ दशमलव ४२ अंक बढेर दुई हजार ६८१ दशमलव ५६ बिन्दुमा पुगेर बन्द भयो । त्यसदिन १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
सोमबारको कारोबारमा भने नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको थियो । सो दिन नेप्से २०.४६ अंकले घट्यो । तर, कारोबार रकम भने आइतबारभन्दा चार अर्ब बढी भयो । सोमबार नेप्सेमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै, मंगलबार ३५.५५ अंकले बढेको नेप्सेमा १७ अर्ब २६ करोड ६३ लाख बराबरको कारोबार भयो । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५.२९ अंकले घट्यो । तर, कारोबार रकम भने बुधबारको रेकर्ड नजिक पुग्यो । बिहीबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
साताको पाँच कारोबार दिनमै नेप्सेमा करिब एक खर्बको कारोबार भएको छ । यो साता नेप्सेमा ९६ अर्ब ३१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
‘पौडेल फ्याक्टर’ र खुकुलो मौद्रिक नीति
लामो समयदेखि सुस्ताएको शेयर बजार पछिल्लो सरकार परिवर्तनसँगै उत्साह थपिएको थियो । परिसूचक पछिल्लो अढाई वर्ष दुई हजार विन्दुको आसपासमा रहेको थियो । तर, सरकार परिवर्तनसँगै अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चाले नै बजारले गति लियो । उक्त उत्साहलाई गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले टेवा दियो । खुकुलो मौद्रिक नीतिले नेप्से परिसूचक बढाउन भूमिका खेल्यो ।
यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको थियो । २०७८ साल भदौ ३ गते बिहीबार नेप्से तीन हजार दुई सय २७ दशमलव ११ विन्दुमा पुगेको थियो । त्यो बेला अर्थमन्त्री पौडेल नै रहेका थिए ।
त्यसबेला अर्थमन्त्री पौडेलले त्यस्तो नीतिगत फेरबदल भने गरेका थिएनन् । यस पटक अर्थमन्त्री हुँदा पनि उनले शेयर बजारलाई बल पुर्याउने गरेर नीतिगत व्यवस्था भने ल्याएका छैनन् । उनको नाम देखाएर ‘शेयर खेलाडी’हरुले बजार उचालेका हुन् । खेलाडीहरूलाई शेयर उचाल्न खुकुलो मौद्रिक नीतिले केही बल भने पुर्याएको छ ।
वृद्धि अस्वाभाविक, सजग रहनुपर्छ
यो साता शेयर बजारमा १८७ अंकले बढेको छ । कारोबार करिब एक खर्ब हाराहारीमा भएको छ । बिहीबारसम्म आइपुग्दा कूल बजार पुँजीकरण ४३ खर्ब ७२ अर्ब ३६ करोड ९६ लाख पुगेको छ । यो साताको समग्र शेयर बजार हेर्दा वित्तीय विवरण राम्रो नराम्रो भएका जुनसुकै कम्पनीहरूको पनि शेयरमूल्य बढेको छ ।
अहिले बजार जसरी बढिरहेको छ त्यो अस्वाभाविक देखिएको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन् । उनी भन्छन्, ‘अहिले शेयर बजार जसरी बढिरहेको छ त्यो अलिक अस्वाभाविक हो । शेयरको दौडाइबाट लगानीकर्ताहरू सजग हुनुपर्छ । विशेषगरि साना लगानीकर्ताहरू सजग हुनुपर्छ ।’
सरकार परिवर्तनको असर र मौद्रिक नीतिले गरेको व्यवस्थाले शेयर बजार बढ्नुमा केही भूमिका भने खेलेको उनको भनाई छ । तर, शेयर बजारको यो गतिले राम्रो नतिजा नदिने बताउँदै गिरी अगाडी भन्छन्, ‘एकाएक शेयर बजार दौडिएको छ । राम्रा नराम्रा सबै कम्पनीहरूको मूल्य बढेको छ । वित्तीय विवरण नराम्रो भएका कम्पनीहरूमा पनि सकारात्मक सर्किट लागेको देख्दा बजारको वृद्धि अस्वाभाविक भन्न सकिन्छ ।’
उनका अनुसार नेपालको अर्थतन्त्र एकातिर छ । तर, बजार अर्कोतिर दौडिरहेको छ । आर्थिक मन्दीले धेरै क्षेत्र थलिएको छ । २०/२५ दिन अगाडी र अहिलेको अर्थतन्त्रमा कुनै त्यस्तो भिन्नता आएको छैन । एकाएक अर्थतन्त्र सुधार भएको पनि होइन र छैन पनि । अर्थतन्त्र र बजारबीच ‘टाइअप’ हुन सकेको छैन ।
आर्थिक मन्दीले थलिएको मुलुकमा एकैदिन करिब २२ अर्ब रुपैयाँसम्मको कारोबार भइरहेको छ । यो पैसा कहाँबाट आयो भनेर खोजी गर्नु पर्ने उनले भनाई छ । आर्थिक न्युजसँग गिरीले भने, ‘मुलुक मन्दीले थलिएको छ । अर्थतन्त्रमा त्यस्तो कुनै सुधार आएको छैन । एकैदिन करिब २२ अर्ब रुपैयाँको कारोबार भइरहेको छ । मन्दीको समयमा यति धेरै पैसा कहाँबाट आयो त्यो पनि खोजी गर्न आवश्यक छ ।’
कालोधन नभित्रिएको लगानीकर्ताको दाबी
शेयर बजारमा अहिले भइरहेको कारोबार कालोधन नरहेको शेयर लगानीकर्ता छोटेलाल रौनियार दाबी गर्छन् । उनी भन्छन्, ‘बजारमा ठूलो कारोबार हुने वित्तीकै कालोधन आयो भनेर आरोप आउँछ । बजार बढ्दा लगानी आउँछ । बढेको बेलामा लगानी गर्न धेरैले पर्खेर बसेका हुन्छन् । यसलाई कालोधन भन्न मिल्दैन । अहिलेको बजारमा पनि कालोधन आएको होइन ।’
वैधानिक प्रणाली मार्फत आएको पैसा कालोधन भन्न नमिल्ने दाबी गर्दै रौनियार भन्छन्, ‘बैंक मार्फत पैसा आइरहेको छ । एनआरएनदेखि गृहिणीसम्मको लगानी आइरहेको छ । रेमिट्यान्स मार्फत आएको पैसा पनि शेयरमा लगानी भइरहेको छ ।’
राम्रा नराम्रा सबै कम्पनीहरूको शेयरमूल्य बढेकोमा सम्बन्धित निकायले अनुसन्धान गरेर कारबाही गर्नु पर्ने उनको माग छ । रौनियार भन्छन्, ‘खराब कम्पनीहरू बढेका छन् भने तिनीहरूलाई कारबाही गर्नु पर्छ । यसबारे अनुसन्धान गर्नु पर्छ । खराब कम्पनीहरू किन र कसले बढाएको छ भनेर सम्बन्धित निकायले हेर्नु पर्छ ।’
शेयर बजारको वृद्धिले लगानीकर्ताहरू उत्साहित बनेका छन् । नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरिरहँदा लगानीकर्ताहरूमा उत्साह थपिएको शेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । उनी भन्छन्, ‘शेयर बजारमैत्री नीतिहरू आएका छन् । जसका कारण शेयर बजारले नयाँ नयाँ इतिहास रचिरहेको छ । यो इतिहासले उत्साहित छन् लगानीकर्ता ।’
ठूला लगानीकर्ता बजारमा छिरेको बताउँदै उनी अगाडी भन्छन्, ‘आर्थिक मन्दीका कारण लगानीको क्षेत्र सङ्कुचित भएको छ । अन्य क्षेत्रमा लगानी गर्न डराएकाहरू अहिले भटाभट शेयरमा लगानी गरिरहेका छन्।’