शीर्षकहरू

भारतीय अर्बपति अम्बानीले हटाए ४२ हजार कर्मचारी, अझै १ लाख ७७ हजार जनालाई निकाल्ने तयारी

भारतीय अर्बपति अम्बानीले हटाए ४२ हजार कर्मचारी, अझै १ लाख ७७ हजार जनालाई निकाल्ने तयारी

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले ४२ हजार मानिसलाई हटाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०२३/२४ मा करिब ११ प्रतिशतले कर्मचारी कटौती गरेको छ ।

रिलायन्स इन्डस्ट्रिजले लागत घटाउन यो कदम चालेको मिडिया रिपोर्टमा भनिएको छ । रिटेल क्षेत्रमा आएको गिरावटका कारण कम्पनीले कर्मचारी कटौतीको गर्नुपरेको प्रतिवेदनमा बताइएको छ । कम्पनीले गत आर्थिक वर्षमा कसैलाई पनि नयाँ नयाँ जागिर दिएको छैन । यसको कारण गत आर्थिक वर्षमा कम्पनीका धेरै रिटेलहरू बन्द भएको र व्यवसाय विस्तारमा कमी आएको बताइएको छ ।

द इकोनोमिक टाइम्सले आर्थिक वर्ष २०२२/२३ मा रिलायन्स इन्डस्ट्रिजमा ३ लाख ८९ हजार कर्मचारी रहेको बताएको छ । जुन आर्थिक वर्ष २०२३/२४ मा घटेर ३ लाख ४७ हजारमा सीमित हुन पुगेको छ । रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै आर्थिक वर्ष २०२३/२४ मा कम्पनीले नयाँ भर्नालाई एक तिहाइभन्दा बढीले घटाएर १ लाख ७० हजार मात्रै राखिने बताइएको छ । 

अर्थात् रिलायन्स इन्डस्ट्रिजले अझै १ लाख ७७ हजार जनालाई कामबाट निकाल्ने तयारी गरिरेहको छ ।

यद्यपि, एक प्रमुख ब्रोकिङ फर्मलाई उद्धृत गर्दै प्रतिवेदनले रिलायन्स इन्डस्ट्रिज घाटामा भने नरहेको दाबी गरेको छ । धेरै व्यवसायहरू पूर्ण रूपमा परिपक्व भइसकेको प्रतिवेदनले बताएको छ। यसले डिजिटल माध्यमबाट पनि धेरै समर्थन प्राप्त गरेको छ। कम्पनीका सबै व्यवसाय उत्कर्षमा छन् । कम्पनीले लागत घटाउन रोजगारी घटाएको ब्रोकिङ फर्मले जनाएको छ ।

रिलायन्स इन्डस्ट्रीजले खुद्रा क्षेत्रमा सबैभन्दा बढी कटौती गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा खुद्रा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या २ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०२३/२४ मा यो घटेर २ लाख ७ हजार पुगेको छ। यसबाहेक, आर्थिक वर्ष २०२२/२३ मा रिलायन्स जियोमा ९५ हजार कर्मचारी थिए, जुन ९० हजारमा झरेको छ ।

सबै व्यवसायहरू नाफामा चलिरहेको बेला लागत घटाउन भनी कर्मचारी कटौती गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजको आलोचना भइरहेको छ । हालै मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह धुमधामका साथ सम्पन्न भएको थियो । उक्त विवाह समारोहमा अम्बानी परिवारले ६ करोड भारुभन्दा बढी रकम खर्च गरेको थियो । उक्त खर्चलाई जोडेर पनि यतिबेला सामाजिक सञ्जालमा अम्बानी परिवारको आलोचना शुरु भएको छ ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)