शीर्षकहरू

उद्योगपति श्रवण कुमार अग्रवालको श्रद्धाञ्जली सभा सम्पन्न

उद्योगपति श्रवण कुमार अग्रवालको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं । उद्योगपति तथा पूर्व संविधानसभा सदस्य श्रवण कुमार अग्रवाल आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सोमबार मारवाडी सेवा समिति नेपालको आयोजनामा नेपाल राष्ट्रिय मारवाड़ी परिषद्, अग्रवाल सेवा केन्द्र, नेपाल जैन परिषद, माहेश्वरी समाज काठमाडौं, नेपाल मारवाडी ब्राह्मण सेवा संघ, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम धोर्क, मारवाडी महिला मंच, मारवाडी युवा मंच काठमाडौं सहित काठमाडौंमा रहेको मारवाडी समाजका विभिन्न संघ संस्थाहरुको सहभागितामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। 

स्वर्गीय श्रवणकुमार अग्रवाल मारवाड़ी सेवा समिति नेपालका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समितिका संयोजक, संविधान सभाका सदस्य, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार, अग्रवाल सेवा केन्द्रका संस्थापक एवं पूर्व उपाध्यक्ष, प्रतिष्ठित उद्योगपती तथा वरिष्ठ समाजसेवी थिए ।  

सो संयुक्त श्रद्धाञ्जली सभामा मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद कुमार चौधरीले सेवा समिति, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम धार्के, मारवाडी महिला मंच, मारवाडी युवा मंच काठमाडौंको तर्फबाट श्रद्धाञ्जली अर्पण गरुका थिए । श्रद्धाञ्जली अर्पण गर्दै श्रवण कुमार अग्रवालको निधनबाट मारवाडी समाजलाई अपूरणीय क्षति पुगेको बताए। 

नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तलले परिषद्को तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै श्रवण कुमार अग्रवाल देशभरका सम्पूर्ण मारवाडी समाजमा चिरपरिचित व्यक्तित्वका साथै मारवाडी समाजको एक मुर्धन्य व्यक्तिको अवसान हुन पुगेको बताए । मधेशी आयोगका अध्यक्ष माननीयश्री विजय कुमार दत्तले श्रद्धाञ्जली व्यक्त गर्दै श्रवण कुमार अग्रवालको निधनमा मधेशी आयोगको तर्फबाट प्रेस विज्ञप्ति जारी गरिएको जानकारी गराए। 

अग्रवाल सेवा केन्द्रको तर्फबाट उपाध्यक्ष रमेश कुमार अग्रवाल (केसान), नेपाल जैन परिषदको अध्यक्ष विमलचन्द राखेचा, माहेश्वरी समाज काठमाडौंका अध्यक्ष  मालचन्द सोमानी र नेपाल मारवाडी ब्राह्मण सेवा संघको तर्फबाट अध्यक्ष शिव कुमार शर्माले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त संयुक्त श्रद्धाञ्जली सभा कार्यक्रममा मारवाडी महिला मंचकी अध्यक्ष अर्चना काबराले श्रवण कुमार अग्रवालको संक्षिप्त  जीवनी राखेकी थिइन । यसै गरी मारवाडी सेवा समिति नेपालको तर्फबाट प्रदान गरिएको समवेदना पत्रको वाचन मारवाडी युवा मंचका अध्यक्ष प्रकाश कुमार केजरिवालले गरेका थिए । समवेदना पत्र उनको जेष्ठ सुपुत्र  राजेश कुमार अग्रवाललाई प्रदान गरिएको थियो । सो क्रममा विभिन्न संघ संस्थाहरुको तर्फबाट समेत समवेदना पत्र प्रदान गरिएको थियो ।