काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेका छन ।
महर्जनलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध( ऐन, २०७७ को दफा २२ (१) ‘ग’ बमोजिम विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुन तर्जुमाका लागि तीन वटै तहसँग परामर्श र समन्वय गर्नेछ । ऐनले हालसम्म पूर्णता नपाएको र लामो समयदेखि बैठक बस्न सकेको छैन । महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भदौ ६ गते बस्नेगरी तोकिएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय सङ्घको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताए ।
मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनित गर्ने सकिने व्यवस्था छ ।