शीर्षकहरू

निर्जीवन बीमा कम्पनीको नाफामा छलाङ, कसरी भयो ५३ प्रतिशतको वृद्धि ?

निर्जीवन बीमा कम्पनीको नाफामा छलाङ, कसरी भयो ५३ प्रतिशतको वृद्धि ?

काठमाडौं । दाबी भुक्तानी घटेपछि गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूको नाफा ह्वात्तै बढेको छ । १४ निर्जीवन बीमा कम्पनीहरुले बुधवारसम्म गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसले गत आवमा उनीहरूको खुद नाफा ५२.८१ प्रतिशतले बढेको देखाएको छ । 

अघिल्लो आव २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरूको नाफा ४ अर्ब ८६ करोड ३१ लाख ५६ हजार रुपैयाँ थियो । गत आवमा भने त्यस्तो नाफा ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ भएको छ । 

गत आवमा निर्जीवन बीमा कम्पनीहरूको दावी भुक्तानी २७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा उनीहरूको दावी भुक्तानी २४ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ थियो । गत आवमा भने १७ अर्ब ९५ करोड मात्रै यस्तो भुक्तानी भएको छ । भुक्तानी कम भएपछि नाफा बढ्न सहयोग पुगेको कम्पनीकाे भनाइ छ । 

गत आवमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्सले कमाएको छ । प्रतिवेदनअनुसार उक्त कम्पनीले ७० करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरि  दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ५९ करोड २३ लाख १९ हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ नाफा गरेको छ । 

हिमालयन एभरेष्टले ६६ करोड ७९ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख ९ हजार र आईजीआई प्रुडेन्सीयलले ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ नाफा गरेका छन् । यसैगरि सगरमाथा लुम्बिनीले ६० करोड ८९ लाख, दि ओरियन्टलले ५९ करोड ६१ लाख ८३ हजार, शिखरले ५१ करोड ३० लाख २१ हजार र प्रभुले ४९ करोड ८ लाख ९८ हजार रुपैयाँ नाफा गरेको छन् । 

यस्तै, युनाइटेड अजोडले ३८ करोड ५२ लाख ८५ हजार, सानिमा जिआईसीले ३३ करोड ७ लाख ८६ हजार, नेशनलले २६ करोड ६७ लाख ९२ हजार र एनएलजीले २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

गत आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा शिथिलता आएको थियो । विगतमा दोहोरो अंकले बढ्ने व्यवसाय गत आवमा एकल अंकले बढेको छ । त्यसका बाबजुद पनि कम्पनीको नाफामा उच्च वृद्धि देखिएको छ । आर्थिक शिथिलता भएपछि स्वतः आर्थिक गतिविधि कम हुन्छ । त्यसले बीमायोग्य जोखिम कम हुन गर्न कम्पनीमा दावी पनि कम पर्‍यो । फलस्वरुप दावी भुक्तानी कम भएर नाफामा वृद्धि भएको देखिन्छ ।