काठमाडौं । नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न इच्छुक १९ विदेशी पुर्नबीमा कम्पनी र ब्रोकरलाई नेपाल बीमा प्राधिकरणले सुचीकृत गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि सुचीकृत गरिएको प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बताए ।
सुचीकृतमध्ये १० विदेशी पुर्नबीमा ब्रोकर छन् भने नौ विदेशी पुर्नबीमा कम्पनी छन् । सुचीकृत कम्पनीहरुले नेपाली बीमा कम्पनीसँग पुर्नबीमाको लागि सम्झौता गर्न सक्नेछन् ।महर्जनका अनुसार सुचीकृतका लागि ३३ वटा विदेशी ब्रोकर र २५ वटा पुर्नबीमा कम्पनीले आवेदन दिएका थिए । तर, प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेको १९ वटा कम्पनी मात्रै सुचीकृत भएका हुन् ।
जिआइसी भुटान पुर्नबीमा कम्पनी (भुटान), आर्च रिइन्स्योरेन्स युरोप अण्डरराइटिङ्ग (आयरल्याण्ड), क्लाप्टन रिइन्स्योरेन्स (जाम्बिया), इको रिइन्स्योरेन्स (स्वीजरल्याण्ड), दि अण्डरराइटिङ्ग मेम्बर अफ दि सोसाइटी अफ लोयड्स (युके), दि ओरियण्टल इन्स्योरेन्स कम्पनी (भारत), कुवेत रिइन्स्योरेन्स कम्पनी (कुवेत), युरेसिया इन्स्योरेन्स (काजकिस्तान) र दि न्यू इण्डिया एसुरेन्स (भारत) विदेशी पुर्नबीमा कम्पनी प्राधिकरणमा सुचीकृत भएका छन् ।
एक्सपर्टस इन्स्योरेन्स ब्रोकर (भारत), श्रीधर इन्स्योरेन्स ब्रोकर (भारत), पायोनियर इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स ब्रोकर (भारत), महिन्द्र इन्स्योरेन्स ब्रोकर (भारत), अलर्ट इन्स्योरेन्स ब्रोकर प्राइभेट (भारत), विलियस इन्स्योरेन्स ब्रोकर (चीन), इन्टरलिंक इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स ब्रोकर (भारत), केएम दस्तुर कम्पनी (मलेसिया), जेवि बोडा भिभा इन्डोनेशिया रिइन्स्योरेन्स ब्रोकर (इन्डोनेशिया) र मनोज रिइन्स्योरेन्स (युएई) ब्रोकर कम्पनी प्राधिकरणमा सुचीकृत भएका छन् ।
प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न चाहने विदेशी पुर्नबीमा दलाल तथा पुर्नबीमा कम्पनीले अनलाईन आवेदन दिनुपर्नेछन् । आवेदन दिएकामध्ये योग्यता पुगेका कम्पनीलाई प्राधिकरणले सुचीकरण गर्नेछन् । सुचीकृत भएका कम्पनीसँग वा दलाल मार्फत मात्रै नेपाली बीमा कम्पनीले पुर्नबीमाको सम्झौता गर्न सक्नेछन् । विदेशी कम्पनीको विश्वसनीयता र जिम्मेवार बनाउनका लागि विदेशी कम्पनीलाई प्राधिकरणले नै सुचीकृत गर्ने व्यवस्था गरिएको उप निर्देशक महर्जनले बताए ।
प्राधिकरणले हालै जारी गरेको विदेशी पुर्नबीमा दलाल तथा पुर्नबीमा कम्पनी मार्गदर्शन अनुसार सुचीकृत हुन चाहने कम्पनीहरुको रेटिङ्ग तोकेको छ । मार्गदर्शन अनुसार ट्रिटी पुर्नबीमाका लागि लिडिङ्ग विदेशी पुर्नबीमा कम्पनीले एएम वेष्ट रेटिङ्ग एजेन्सी, एस एण्ड पि र फिच रेटिङ्ग एजेन्सीबाट न्यूनतम ए माईनस रेटिङ्ग पाएको हुनुपर्नेछ भने मुडिजबाट ए थ्रि पाएको हुनुपर्नेछ । सहायक कम्पनीको हकमा भने एएम वेस्टबाट बि, एस एण्ड पि र फिचबाट त्रिपल बि, मुडिजबाट त्रिपल बि १ पाएको हुनुपर्नेछ ।
फ्याकल्टेटिभ पुर्नबीमा तर्फ एएम वेस्टबाट न्यूनतम बि, एस एण्ड पि र फिचबाट त्रिपल बि र मुडिजबाट त्रिपल बि १ प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै, उच्चतम रेटिङ्ग तर्फ एएम वेस्टबाट ए डबल प्लस, एस एण्ड पि, फिचबाट र मुडिज एजेन्सीबाट त्रिपल ए रेटिङ्ग प्राप्त गरेको हुनुपर्नेछ ।
बीमकको पुर्नबीमा निर्देशिका २०८० को दफा ११ मा विदेशी पुर्नबीमक तथा पुर्नबीमा दलाल प्राधिकरणमा सुचीकृत हुनुपर्ने व्यवस्था छ । सुचीकृत हुँदा कम्पनीहरुले सम्बन्धित देशको नियमनकारी निकायबाट प्राप्त पुर्नबीमकको इजाजतपत्र, प्रमाणपत्र, स्थापना मिति पेश गर्नुपर्नेछ । साथै इजाजतपत्र दिने निकायको नाम, अद्यावधिक वित्तीय विवरण, बीमकसँग कारोबार हुने पोर्टफोलियो, कम्पनीको नाम, ठेगाना, स्थापना बर्ष, सम्पर्क नम्बर, सम्पर्क व्यक्तिको विवरण पनि निवेदनको साथमा पेश गर्नुपर्नेछ ।
त्यस्तै, सुचीकरण गर्दा बीमकको आफनै कर्मचारी वा प्रतिनिधि वा स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा, रेटिङ्ग एजेन्सीको नाम र प्राप्त गरेको रेटिङ्ग, बीमकसँग कारोबार हुने पोर्टफोलियो लगायतका विवरण पेश गर्नुपर्नेछ ।
यसअघि नेपाली बीमा कम्पनीले नै विदेशी पुर्नबीमा कम्पनी वा दलालको नाम प्राधिकरणमा सिफारिश गर्थे । कम्पनीले बुझाएको कागजपत्रको आधारमा प्राधिकरणले पुर्नबीमा व्यवसायको लागि अनुमती दिने व्यवस्था थियो । यो बर्ष देखि भने अनलाइन मार्फत नै सुचीकरणका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको हो ।
बीमा कम्पनीहरुले बीमा गरिएका जोखिममध्ये निश्चित जोखिममा अन्य कम्पनीलाई हस्तान्तरण गछन् । जसलाई पुर्नबीमा भनिन्छ । यसरी बीमा कम्पनीको जोखिम बहन गर्ने कम्पनीलाई पुर्नबीमा कम्पनी भनिन्छ । नेपालमा नेपाल पुर्नबीमा र हिमालयन रिइन्सोरेन्स गरी दुई वटा यस्ता कम्पनी छन् ।
त्यस्तै, बीमा कम्पनी र पुर्नबीमा कम्पनीबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कम्पनीलाई पुर्नबीमा ब्रोकर भनिन्छ । यस्ता कम्पनीले बीमा कम्पनी र पुर्नबीमा कम्पनीको विश्लेषण पुर्नबीमा गर्न सहयोग गर्ने भएकाले कतिपय कम्पनीले ब्रोकर मार्फत नै पुर्नबीमा गर्ने गर्छन् । नेपालमा हाल १० वटा पुर्नबीमा ब्रोकर कम्पनी लाइसेन्स लिएका छन् ।