शीर्षकहरू

खस्कियो मोटर बीमा व्यवसाय, आर्थिक मन्दी र इभीको आयात मुख्य कारण

खस्कियो मोटर बीमा व्यवसाय, आर्थिक मन्दी र इभीको आयात मुख्य कारण

काठमाडौं । केही वर्ष अघिसम्म विलासीताको साधन मानिने सवारी साधन अहिले मानिसको आधारभूत आवश्यकता बनेको छ । दैनिक जीवनदेखि पारिवारिक यात्रा र जमघटका लागि पनि सवारी साधनले सहजता प्रदान गरेको छ ।       

सडक विस्तार, बढ्दो सहरीकरण, अव्यवस्थित ट्राफिक लगायतका कारणले मानिसहरूले आफ्नै सवारी साधनको आवश्यकता महसुस गर्न थालेका छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरूले सहज रूपमा उपलब्ध गराउने कर्जाले पनि मानिसहरूलाई सवारी साधनको प्रयोग गर्न प्रोत्साहन गरेको छ । 

सवारी साधनले जीवनशैलीलाई जति सहज बनाएको छ उत्ति नै भयावह बनाइदिएको पनि छ । ट्राफिक नियमनको फितलो कार्यान्वयन, अव्यवस्थित सडक, चेतनाको अभाव लगायतका कारणले सवारी साधन दुर्घटना पनि उत्तिकै छ । 

सवारी साधन हराउँदा र चोरी हुँदा मानिसहरू आर्थिक जोखिममा पनि पर्ने गरेका छन् । कर्जा लिएर खरिद गरिएको सवारी साधन दुर्घटना तथा चोरी हुँदा मानिसहरू भौतिक र मानवीय क्षतिबाट गुज्रिनु परेको छ । यस्तो खालको क्षतिलाई कम गर्न सरकारले सवारी साधन (मोटर) बिमालाई अनिवार्य गरेको छ ।  

सरकारले मोटर बीमा अन्तर्गतको तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो । तर, यो पूर्णरुपमा भने कार्यान्वयन हुन नसकेको नेपाल बीमक संघका महासचिव एवम् नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्का बताउँछन् । 

उनी भन्छन्, ‘सवारी साधनको नवीकरण गर्दा बीमा पोलिसी अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था छ । तर, कतिपय यातायात कार्यालय पोलिसी बिना नै नवीकरण गर्ने गरेका छन् । तेस्रो पक्ष अनिवार्य भनिए पछि शतप्रतिशत कार्यान्वयन भने हुन सकेको छैन ।’ 

घट्यो मोटर बीमा व्यवसाय   

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष पाँच प्रतिशत भन्दा बढीले नेपालको मोटर बीमा व्यवसाय घटेको छ । आर्थिक मन्दीका कारण नेपालको मोटर बीमा व्यवसाय घटेको हो । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मोटर बीमाबाट कम्पनीहरुले १२ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेका थिए । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले मोटर बीमा व्यवसायबाट १३ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।  

गत वर्ष कम्पनीहरुले १६ लाख ४५ हजार ९०६ वटा मोटर बीमा पोलिसी जारी भएका छन् । जबकी अघिल्लो आवमा १७ लाख ४४ हजार ९५३ वटा पोलिसी जारी भएका थिए ।  

विश्व आर्थिक मन्दीका कारण गत वर्ष सवारी साधन खरिद नै घट्यो । फलस्वरुप मोटर बीमा व्यवसाय पनि घटेको सीईओ खड्काले बताए । उनले आर्थिक न्युजसँग भने, ‘आर्थिक मन्दीका कारण सवारी साधन खरिद नै घट्यो । धेरै मोटर बीमा नवीकरण नै गरेनन् । यसले मोटर बीमा व्यवसायमा प्रभाव पार्‍यो ।’

पछिल्लो महिनामा भने यसमा केही सुधार हुँदै गएको उनले जानकारी दिए । 

यता, विद्युतीय सवारी साधन (इभी)को आयातले पनि मोटर बीमा व्यवसाय प्रभावित भएको उनको भनाई छ । ‘इभिको आयातले पनि व्यवसायमा असर परेको छ । इभीको बीमाशुल्क कम छ । जसको प्रत्यक्ष असर व्यवसाय पारेको छ,’ उनले भने ।   

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भने मोटर बीमामा नै निर्भर रहेको छ । बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्कको मोटर बीमाको हिस्सा अधिक रहेको छ । सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरेकै कारण यसको हिस्सा अधिक भएको बीमा प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए ।  

प्राधिकरणको तथ्यांक अनुसार गत आवको तथ्यांक अनुसार कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमा मोटर बीमाको हिस्सा ३० प्रतिशत थियो । गत आवमा कम्पनीहरुले निर्जीवन बीमा व्यवसायबाट ४१ अर्ब ४६ करोड बीमाशुल्क संकलन गरेका थिए ।   

के हो मोटर बीमा ?   

मोटर अर्थात् कुनै प्रकारको सवारी साधन दुर्घटना भएमा दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति भएको अवस्थालाई बीमा कम्पनीले दिने आर्थिक सहयोगलाई मोटर बीमा भनिन्छ । बीमा गरिएको मोटर दुर्घटना हुँदा मोटरमा हुने क्षति, मोटरमा यात्रा गरेको मानिसमा भएको क्षति र मोटरले बाह्य पक्षलाई गर्ने क्षतिको आकलन गरी बीमा कम्पनीले दाबी रकम भुक्तानी  गर्छन् । 

बीमा ऐन अनुसार मोटर बीमा अन्तर्गत मोटरसाइकल, निजी मोटर कार, ट्याक्सी, मालवाहक ट्रक, ट्र्याक्टर तथा पावर ट्रीलर, यात्रुवाहक बस, माइक्रो, विद्युतीय गाडी, मालसामान ओसार्ने ट्रेलर तथा ट्रली, सडकमा गुड्ने अनुमति पाएका एग्रिकल्चर र फरेस्ट्री गाडी, कन्स्ट्रक्सन इक्युपमेन्ट/भेइकल, एम्बुलेन्स र सबै प्रकारका सवारी साधनहरूको मोटर बीमा अन्तर्गत बीमा गर्न पाइन्छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम सवारी धनी वा व्यवस्थापकले तोकिए बमोजिम प्रत्येक सवारीको बीमा गराउनु पर्नेछ । साथै बीमा नगरेको सवारीको दर्ताको प्रमाणपत्र नवीकरण नगरिने ऐनमा उल्लेख छ ।  

ऐनमा सवारीको चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारीको सवारी धनी वा व्यवस्थापकले बीमा गर्नुपर्नेछ । प्रत्येक यात्रीको पनि तोकिएको रकमको दुर्घटना बीमा गराउनु पर्नेछ । 

त्यस्तै, सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनु पर्नेछ । 

कसरी गर्ने मोटर बीमा ? 

बीमा गर्दा आफूलाई विश्वास लागेको कम्पनी छनोट गर्नुपर्छ । बीमा लागी ब्लुबुकको फोटोकपी वा शोरुमले दिएको भ्याट विलको कपी, सवारी धनीको परिचय पत्र खुल्ने प्रमाणपत्र, एक कपी फोटो आवश्यक पर्छ । यी कागजपत्र जुटाईसकेपछि एउटा फारम भर्नुपर्छ । जुन कम्पनीमा उपलब्ध हुन्छ । 

सवारी धनीले केवाईसी फारम पनि भर्नुपर्छ । यदि सवारी साधन कुनै संस्थाको नाममा छ भने संस्थाको प्रबन्ध पत्र नियमावलीको एक कपी फोटोकपी, संस्था प्रमुखको परिचयपत्र खुल्ने प्रमाणपत्र तथा बीमा कम्पनीसँग डिल गर्ने व्यक्तिको परिचयपत्र पनि बुझाउनु पर्छ । माथि उल्लेखित कागजपत्र बुझाइसके पछि कम्पनीको प्रतिनिधि गएर साधनको परीक्षण गरी फोटो खिच्छ । 

कम्पनीले पनि बीमा सम्झौतालाई स्वीकार गरेपछि दुई पक्ष बिचको बीमा सम्झौता हुन्छ । यदि एक वर्षसम्म पनि सवारी साधनको दुर्घटना भएन भने अर्को वर्ष कम्पनीले प्रिमियममा छुटको सुविधा प्रदान गर्छ । 

यी हुन् मोटर बीमाका प्रकार 

व्यापक मोटर बीमाः सवारी साधनसँग सम्बन्धित सबै प्रकारका जोखिम वहन हुने गरी गरिने बिमालाई व्यापक मोटर बीमा भनिन्छ । जसमा सावरी साधन दुर्घटना हुँदा सवारी साधनलाई नै हुने क्षति, सवारी साधन भित्र रहेको यात्रुलाई हुने क्षति र सवारी साधनले तेस्रो पक्षलाई गर्ने क्षतिको जोखिम समेत वहन गरिन्छ । तुलनात्मक रूपमा यस्तो खालको बीमाको शुल्क बढी हुन्छ । 

यस्तो खालको बीमा अन्तर्गत मोटरसाइकलको बीमामा मोटरसाइकल चालक, मोटर साइकलको पछाडि सवार एक व्यक्ति र तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्चका साथै मोटर साइकलको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा पनि अधिकतम दायित्व २५ लाखको सीमामा रही क्षतिपूर्ति भुक्तानी गर्छ । 

निजी सवारीको हकमा सवारी चालक, गाडीमा सवार अन्य बिल बुकमा उल्लेख भएको सिट सङ्ख्या अनुसारको सवार यात्रु, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेस्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ८० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ ।

व्यावसायिक सवारी साधन बीमालेख अन्तर्गत सवारी साधनको चालक, परिचालक, चेकर, हेल्पर, वा अन्य कर्मचारी, सवारी साधन दर्ता प्रमाणपत्रमा उल्लेख भएको सिट सङ्ख्याको आधारमा सवार यात्री, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेस्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ५० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ । 

तेस्रो पक्ष बीमाः आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु नै तेस्रो पक्ष बीमा हो । यस योजना अनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा  तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनु पर्दैन । 

तर, तेस्रो पक्ष बीमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नु पर्ने हुन्छ । 

तेस्रो पक्ष बीमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पुर्रयाएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा समानमा क्षति पुर्याएमा अधिकतम ८० लाख रुपैयाँ भुक्तानी गर्छ । 

त्यस्तै, व्यावसायिक गाडीहरूबाट भएको दुर्घटनामा अधिकतम ५० लाख भुक्तानी गर्छ । यो बाहेक बीमाशुल्क थप गरी अन्य सुविधा पनि लिन सकिन्छ । 

कसरी लिने दाबी भुक्तानी ?  

तेस्रो पक्ष बीमाको दाबी गर्नका लागी दुर्घटना हुनासाथ कम्पनीलाई खबर गर्नुपर्छ । साथै प्रहरीलाई पनि खबर गर्नुपर्छ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेवर खटाउन पनि सक्छ । कम्पनीको प्रतिनिधि आफै गएर पनि हेर्न सक्छ । कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । 

जस्तै: तेस्रो पक्ष को हो ? मृत्यु भएमा मृत्यु हुनेको विवरण, प्रहरी प्रतिवेदन, लास जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यालयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदी माग्न सक्छ । मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ ।  

दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाहीँ बीमित अर्थात् सवारी धनीलाई पनि भुक्तानी गर्छ । तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारी धनीले नै सबै खर्च व्यहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसको लागि भने कागजपत्र बुझाउनु पर्छ ।