शीर्षकहरू

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

म्याग्दी । मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो । 
    
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको रु १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताए । 
    
“विसं २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो”, उनले भने “आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट खेलमैदानलाई व्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ ।”

एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर  निर्माण गरिएको छ । डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताए । 

जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । 

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जिल्ला सदरमुकाममा व्यवस्थित खेलमैदानको आवश्यकता महसुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत आवमा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो ।