शीर्षकहरू

उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह

उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह

रुपन्देही । मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो ।

मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको उनीहरुले गुनासो गरे । उनीहरुले उद्योगका क्षेत्रमा भएका नवीनतम प्रगति, समस्या र विकास निर्माणका विषयलाई जोडदाररूपमा उठाउन आग्रह गरे । कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकारले गरेका राम्रा कामलाई प्राथमिकता दिन आग्रह गरे । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरे पनि मिडियाले राम्राभन्दा नकारात्मक पक्षलाई जोड दिएको बताए। सदस्य फकरुद्धिन खानले सरकार सबैको अभिभावक भएकाले सबै पेशाकर्मीको समस्या सम्बोधन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले राजनीतिक हिसाबले विभाजित भएका कारण पत्रकारहरुले निष्पक्षरुपमा कलम चलाउन नसकेको धारणा राख्नुभयो । उहाँले पत्रकारसँग टाढा हुँदा निजी क्षेत्रका सही सूचना बाहिर नजाने भएकाले राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताए। महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकार र उद्योगीबीच समाचारका विषयलाई लिएर छलफल हुन जरुरी रहेको बताए ।