शीर्षकहरू

एनआरएनएलाई पूर्ण अधिकारसहितको नागरिकता चाहियो : अध्यक्ष डा केसी

एनआरएनएलाई पूर्ण अधिकारसहितको नागरिकता चाहियो : अध्यक्ष डा केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताको लागि लबिइङ जारी राख्ने बताएका छन् । 

डा केसीले तमु धीँ यूकेद्वारा आइतबार लण्डनस्थित केम्प्टनपार्कमा आयोजित १५ औँ नेपाली मेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले गैरआवासीय नेपालीहरुलाई गत वर्षदेखि जारी गर्न थालिएको नागरिकताको कार्यान्वयनमा समस्या रहेको चर्चा गर्दै आगामी अक्टोबर महिनाभित्र गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा कार्यान्वयनमा आउने दाबी पनि गरे।

डा केसीले समान पेन्सन र अधिकारको लागि आन्दोलनरत भूपू गोर्खा आन्दोलनप्रति गैरआवासीय नेपाली संघको ऐक्यबद्धता रहेको बताउँदै भूपूगोर्खाहरुको माग सम्बोधन गर्न मन्त्रीस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । 

तमु धीँ यूकेका अध्यक्ष हरि गुरुङको सभापतित्वमा सम्पन्न मेलालाई सम्बोधन गर्दै नेपाली दूतावास लण्डनकी कार्यवाहक राजदूत रोशन खनालले मेला बेलायतमा नेपाली भाषा तथा संस्कृतिको प्रवर्धन गर्न सफल भएको बताइन् ।  

मेलामा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको थियो। पहिलो हुने समूहलाई ५ सय, दोस्रोलाई तीन सय र तेस्रो हुनेलाई २०० पाउण्ड पुरस्कार प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरियो ।

झाँकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११ सय पाउण्ड नगदसहित एम्बासडर कप तथा ३ सय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७ सय पाउण्ड एवं तृतीय हुने टिमलाई ५ सय पाउण्ड नगद र प्रमाणपत्र प्रदान गरियो । 

हाम्रो संस्कृति, हाम्रो पचिान, हाम्रो गौरवु नारा सहित आयोजित मेलामा संघका केन्द्रीय उपाध्यक्षहरु डा हेमराज शर्मा, रामरशण सिम्खडा, रोजिना प्रधान राई, सचिव टीक गुरुङ, युरोप उपसंयोजक रोबर्ट लिम्बु, प्रवक्ता फणीन्द्र पन्त, संघका केन्द्रीय सल्लाहकारहरु हीराधन राई, सूर्य गुरुङ लगायत गैरआवासीय नेपाली संघका केन्द्रीय तथा एनआरएनए यूकेका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो ।