शीर्षकहरू

फेरि ब्युँताइँदै वैदेशिक रोजगार म्यादी बीमा पुल, बाडफाँड कसरी गरिँदैछ ?

फेरि ब्युँताइँदै वैदेशिक रोजगार म्यादी बीमा पुल,  बाडफाँड कसरी गरिँदैछ ?

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी पुन: वैदेशिक रोजगार म्यादी बीमा पुलबाट जारी गरिने भएको छ । सरकारले अनिवार्य गरेको बीमा व्यवसायको समान वितरणका लागि फेरि पुलमा नै जानुपर्ने अवस्था आएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । 

अध्यक्ष सिलवालका अनुसार कम्पनीहरुले गरेको व्यवसायको ६८ प्रतिशत समान रुपमा वितरण हुनेछ  । ३२ प्रतिशत भने व्यवसायको आधारमा कम्पनीहरुलाई बाडफाँड गरिने गरी निर्देशिका बनाउन लागिएको उनले बताए  । ‘वैदेशिक रोजगार म्यादी बीमालाई सरकारले अनिवार्य गरेको छ । तर, केही कम्पनीले धेरै आम्दानी गरे, केहीले भने गर्न सकेनन् । त्यसैले निश्चित प्रतिशत सबै कम्पनीलाई समान रुपमा वितरण गरिदिने र बाँकी रकम उनीहरुले गरेको व्यवसायको आधारमा गरिनेछ,’ उनले भने । 

पुलको व्यवस्थापन नेपाल पुर्नबीमा कम्पनी र हिमालयन पुर्नबीमा कम्पनीले गर्नेछन् । कम्पनीहरुले मासिक रुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायको आम्दानी र दायित्व बाडफाँड गरिने अध्यक्ष सिलवालले बताए । ‘पुल सञ्चालनको लागि निर्देशिका बनी रहेको छ । निर्देशिका अन्तिम चरणमा छ,’ उनले भने । 

तर, प्राधिकरणका एक अधिकारीका अनुसार भने पुल सञ्चालनको लागि बनाइएको निर्देशिका पारित भैसकेको छ । निर्देशिकामा कम्पनीलाई न्यूनतम् र अधिकतम् व्यवसाय गर्नुपर्ने सीमा तोकिएको बताए । 

प्राधिकरणले वैदेशिक रोजगार बीमामा चरम् अनियमितता भएको भन्दै २०७५ माघदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालाई पुलबाट सञ्चालन गरेको थियो । तर, पुल सञ्चालनको संरचना अव्यवहारिक भएको भन्दै कम्पनीहरुले गत वर्ष पुल भंग गरेका थिए  । पुल भंग भएपछि कम्पनीहरुले आफूखुशी वैदेशिक रोजगारी म्यादी जीवन बीमा पोलिसी बिक्री वितरण गर्दै आएका छन् । 

तत्कालीन समयमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमाका विषयमा सुझाव पेश गर्न बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतको एउटा सुझाव समिति बनाएको थियो । समितिमा तत्कालीन सिटिजन्स लाइफ इन्स्योरेनसका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाइफ इन्स्योरेन्सका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, नेशनल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई रहेका थिए । सुझाव समितिले वैदेशिक रोजगारी बीमामा बढ्दै गएको विकृतिलाई रोक्न पुलको व्यवस्था गर्न प्राधिकरणलाई सुझाएका थिए । 

समितिको सुझाव अनुसार त्यतिबेला पुलबाट जारी भएको व्यवसायलाई कम्पनीको बजार हिस्सा अनुसार बाडफाँड गरिएको थियो । त्यतिबेला १८ वटा जीवन कम्पनीमध्ये वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सको कम्पनीको हिस्सा सबैभन्दा अधिक १९ प्रतिशत थियो । प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत, सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत, युनियन लाइफ र नेपाल लाइफको ११ प्रतिशत हिस्सा थियो । रिलायवल र रिलायन्स लाइफको हिस्सा ८/८ प्रतिशत थियो । सोहीबमोजिम पुलबाट हुने व्यवसायको पनि बाडफाँड गरिएको थियो । 

वैदेशिक बीमाको सुरुवात

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु वा अंगभंग भएमा क्षतिपूर्तिको व्यवस्था गर्यो । त्यसपछि कम्पनीहरुले आफूखुशी बैदेशिक रोजगार म्यादी जीवन बीमा सञ्चालन गर्दै आएका थिए । २०७३ साल माघदेखि भने सरकारले यसलाई अनिवार्य गर्‍यो । वैदेशिक रोजगारीमा गएकाहरु श्रमिकहरुको मृत्यु र अंगभंग हुने घटना बढ्न थालेपछि सरकारले यसलाई अनिवार्य गरेको हो ।  

वैदेशिक रोजगार म्यादी जीवन बीमा गरी वैदेशिक रोजगारीमा गएर मृत्यू भएमा मृतक श्रमिकका परिवारले जीवन बीमा वापत १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  बीमितको आयको नोक्सानी वापत दुई लाख रुपैयाँ, क्रिया खर्च वापत एक लाख रुपैयाँ, औषधी उपचार खर्च वापत एक लाख रुपैयाँसम्म, शव ल्याउन खर्च वापत एक लाख रुपैयाँ र घातक रोग लागेको पाँच लाख रुपैयाँ प्राप्न गर्नेछन् ।