शीर्षकहरू

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले लगे चार अर्ब ४३ करोड विशेष सापटी

यसरी लिन सकिन्छ कर्जा

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले लगे चार अर्ब ४३ करोड विशेष  सापटी

काठमाडौं । समाजिक सुरक्षा कोषबाट योगदानकर्ताले चार अर्ब ४३ करोड रुपैयाँ विशेष सापटी लिएका छन् । विगत दुई वर्षको अवधिमा २१ हजार ७०० योगदानकर्ताले कोषबाट सापटी लिएका हुन् । 

कोषले २०७९ भदौदेखि योगदानकर्ताको लागि चार प्रकारका सापटी सुविधा सञ्चालन गर्दे आएको छ । जसमध्ये विशेष सापटी लिनेको संख्या उल्लेखनिय रहेको कोषले जनाएको छ ।

कोषका अनुसार सोही अवधिमा ३३ जना योगदानकर्ताले ६ करोड रुपैयाँ बराबरको घर कर्जा लिएका छन् । तीन जनाले २३ लाख ६० हजार रुपैयाँ शैक्षिक कर्जा लिएका छन् ।

अन्य कर्जाको तुलनामा विशेष सापटी कर्जाको प्रक्रिया सरल भएपछि योगदानकर्ताहरु यस्तो कर्जामा आकर्षित भएको कोष प्रवक्ता विवेक पन्थीले बताए । ‘विशेष सापटीमा धितो राख्नु पर्दैन । योगदानकर्ताले मोबाइल एपबाट नै निवेदन दिएर बढीमा दुई दिनमा कर्जा पाउन सक्छन्,’ उनले भने । 

कोषले विशेष सापटीमा ६.६ ब्याज तोकेको छ । ५८ वर्षभन्दा कम उमेरका योगदानकर्ताले यस्तो कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कर्जाको लागि ऋणी योगदानकर्ताले नै अवधि तोक्न सक्नेछन् । वार्षिक रुपमा कर्जाको ब्याज भुक्तानी गर्नुपर्नेछ । तर, ऋणीले चाहेमा मासिक वा त्रैमासिक रुपमा पनि ब्याज भुक्तानी गर्न सक्नेछन् । 

त्यस्तै, कोषमा आवद्ध योगदानकर्ताले घर बनाउन, मर्मत गर्न, घरमा तला थप्न, संयुक्त आवासमा यूनिट खरिद गर्न लगायत घरसँग सम्बन्धित पनि प्रयोजनका लागि घर सापटी पनि लिन सक्नेछन् । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ सो रकमसम्म प्रदान गरिनेछ । घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ । योगदानकर्ताले घर सापटी चुक्ता गरेमा पुन : घर सापटी दिन सकिनेछ । 

घर कर्जामा कोषले ७.५ प्रतिशत ब्याज तोकेको छ । कर्जाको सिमा २० वर्षको हुन्छ । घर कर्जा लिनका लागि योगदानकर्ताले घर बनेको जग्गा धितोमा राख्नुपर्नेछ । 

योगदानकर्ता वा योगदानकर्ताको श्रीमती, छोराछोरीको लागि शैक्षिक योजना कर्जा लिन सकिनेछ । कोषले यस्तो कर्जाको सिमा ३५ लाख रुपैयाँ तोकेको छ ।  कर्जामा ७.५ प्रतिशत ब्याज लाग्नेछ । कोषले १५ वर्षसम्मको लागि यस्तो कर्जा उपलब्ध गराउँछ । यस्तो कर्जा एकमुष्ट वा चार किस्तामा उपलब्ध गराउनेछ । शैक्षिक कर्जाका लागि चार मिटर बाटो भएको घर वा जग्गा धितोमा राख्नुपर्नेछ । 

त्यस्तै, कोषले सामाजिक कार्य सापटी पनि सञ्चालन गर्दै आएको छ । योगदानकर्ता आफू वा एकाघर सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषबाट साामाजिक कार्य सापटी प्रदान गर्न सक्नेछ । सामाजिक कार्य सापटी स्वाप गर्दा त्यसरी सापटी लिँदा राखेको धितोलाई नै कायम गर्न सकिनेछ ।