शीर्षकहरू

खडक पुलमा डरलाग्दा खाल्डाखुल्डीः सडक दुर्घटनाको जोखिम

खडक पुलमा डरलाग्दा खाल्डाखुल्डीः सडक दुर्घटनाको जोखिम

गोलबजार । हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । हुलाकी सडकको पक्की सडकबाटोमा तीव्र गतिमा आउने गाडीहरू अचानक पुलको खाल्डामा परी दुर्घटना हुने गरेको स्थानीय ब्रजेशकुमार यादवले बताए ।

पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको टेम्पु चालक रामध्यानी यादवले बताए । तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको यादवको गुनासो छ । पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन रहेकाले चालकले हुलाकी सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक मदनी साहकानुसार तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर र्दुघटना हुने भएकाले  सतर्कता अपनाउन आग्रग गर्ने गरिएको बताए । खडक पुलमा दुर्घटना रोक्न अस्थायी ट्राफिक प्रहरी पोष्ट बोदेबरसाइनलाई परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम गर्दै आइएको उनले जानकारी दिए ।

खाल्डा पुर्ने नियामक निकाय हुलाकी सडक योजना कार्यालय इटहरीले चासो नदिँदा विगत एक वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद चौधरीको गुनासो छ । पटकपटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनले बताए ।
 
हुलाकी सडक योजना कार्यालय इटहरीका इन्जिनियर समपतलाल दासले पुल मर्मतका लागि छुट्टै बजेट नभएकाले समस्या समाधान गर्न नसकिएको बताए । उनले स्रोत व्यवस्थापनका लागि पहल भइरहेकाले चाँडै  पुल मर्मत गरिने प्रतिवद्धता व्यक्त गरे । खडक पुल ११ करोड ७३ लाख ९३ हजार भ्याटसहितमा इलाइट/सूर्या जेभीले विसं २०७९ असोज २७ गते पुल निर्माण सम्पन्न गरेको थियो । छोटो समयमै पुलमा खाल्डा परेपछि गुणस्तरीय काम नगरिएको भन्दै विरोध गरिरहेका छन् । 

स्थानीय विद्यानारायण यादवले हुलाकी गुणस्तरीय कार्य गराउन नसक्दा पुलमा खाल्डाखुल्डी पर्न थालेको आरोप लगाउँदै तत्काल मर्मत गर्न सरोकार भएका निकायलाई आग्रह गरे । “यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी हुलाकी सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ”, उनले भने ।