शीर्षकहरू

निर्धारित समयमै काठमाडौं–तराई–मधेस द्रूतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

निर्धारित समयमै काठमाडौं–तराई–मधेस द्रूतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौं । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रूतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । 

“द्रूतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भने । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । 

सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रूतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए । उनले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे। अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको उच्चतम् प्रयोग गर्न सुझाव दिए ।