शीर्षकहरू

कुमारी क्यापिटलका दुई योजनाको लाभांश भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने

कुमारी क्यापिटलका दुई योजनाको लाभांश भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको लाभांश (प्रतिफल) भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउनेछन् । कुमारी धनबृद्धि योजना र कुमारी इक्वीटी फण्डको प्रस्तावित लाभांश भदौ १८ गतेसम्म कायम इकाइधनीहरूले मात्र पाउने भएका हुन । 

गत वर्षको मुनाफाबाट कुमारी धनबृद्धि योजनाले कर समेत ९ दशमलव ५० प्रतिशत र कुमारी इक्वीटी फण्डले कर समेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश प्रयोजनका लागि यी दुई योजनाले भदौ १९ गते एक दिन बुक क्लोज गर्न लागेकाले भदौ १८ गतेसम्म आफ्नो इकाई कायम गर्नुपर्ने भएको हो । 

कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनाले भने प्रस्तावित लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । योजनाले प्रतिफल प्रयोजनका लागि भदौ ११ गते बुक क्लोज गर्ने गरेको थियो । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रतिशत प्राप्त गर्न सक्नेछन् । 

कुमारी सुनौलो लगानी योजनाले कर समेत १० दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो । खुलामुखी योजनाको इकाईधनीहरूले प्राप्त गर्ने प्रतिफल पुनः लगानी गर्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित इकाईधनीहरूले भदौ २५ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र नाम दर्ता गर्ने इकाईधनीहरूले प्राप्त गर्ने प्रतिफल बराबरको इकाई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा सोझै पठाइने व्यवस्था मिलाईनेछ ।