शीर्षकहरू

नेप्सेमा पहिरो, कारोबार रकम पनि घट्यो

नेप्सेमा पहिरो, कारोबार रकम पनि घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि दुई दिन पनि टिकेन । गत साता  २२४ दशमलव ८९ अंकले घटेको बजार साताको पहिलो कारोबार दिन आइतबार पनि ५३ दशमलव ६३ अंकले घटेको थियो ।

त्यसपछिका दुई दिन भने नेप्से उकालो लागेको थियो । सोमबार २७.३२ अंक र मंगलबार ६.९० अंकको वृद्धि भएको नेप्से परिसूचकमा बुधबार पहिरो खसेको छ ।

आज ९०.७३ अंकले घटेर नेप्से परिसूचक २७३९.४६ अंकमा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । मंगलबार १३ अर्ब ५७ करोडको कारोबार भएकोमा यस दिन १२ अर्ब ९२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

आज सबै परिसूचकको शेयरमूल्य घटेको छ । कारोबारमा आएका २४५ कम्पनीमध्ये २१३ कम्पनीको शेयरमा गिरावट आएको छ भने ३१ कम्पनीको मूल्य बढ्दा एकको स्थिर रहेको छ ।

नेप्से ओरालो लागे पनि आज चार कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज एक्सेल विकास बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर खरिदबिक्री भएको छ । यस दिन कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।