शीर्षकहरू

अबदेखि म्यादी जीवन बीमा व्यवसाय नगर्नेले बीमकले पनि पाउने भए हिस्सा

अबदेखि म्यादी जीवन बीमा व्यवसाय नगर्नेले बीमकले  पनि पाउने भए हिस्सा

काठमाडौं । अबदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवसाय नगर्ने बीमा कम्पनीले पनि व्यवसाय वापतको हिस्सा भने पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा संचालन सम्बन्धी निर्देशन २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

प्राधिकरणले जारी गरेको निर्देशिकाले म्यादी जीवन बीमा सामूहिक रुपमा जारी गर्नुपर्नेछ । यस्तो व्यवसायबाट प्राप्त रकम सामूहिक बीमा कोषमा जम्मा गर्नुपर्नेछ । यसरी कोषमा जम्मा भएको रकममध्ये केही प्रतिशत सबै बीमा कम्पनीलाई समान रुपमा वितरण गरिनेछ भने केही थोरै प्रतिशत कम्पनीहरुले बीमा व्यवसायको हिस्साको आधारमा बाडफाँड गरिनेछ । 

निर्देशिका अनुसार पहिलो वर्ष कोषमा जम्मा भएको रकममध्ये ६९ प्रतिशत रकम सबै कम्पनीलाई समान रुपमा वितरण गरिनेछ । यसरी वितरण गर्दा प्रत्येक कम्पनीको भागमा ४.६० प्रतिशत पर्नेछ । बाँकी रहेको ३१ प्रतिशत रकम भने बीमा कम्पनीहरुको व्यवसायको हिस्साको आधारमा बाडफाँड गरिने भएको छ । 

त्यस्तै, दोस्रो वर्ष अर्थात् २०८२÷८३ मा भने कोषमा जम्मा भएको रकमको ८५.५० प्रतिशत समान रुपमा वितरण गरिने छ । समान रुपमा वितरण गर्दा प्रत्येक कम्पनीका भागमा ५.७० प्रतिशत पर्नेछ । बाँकी १४.५० कम्पनीहरुले गरेको व्यवसायको आधारमा वितरण गरिनेछ । तेस्रो वर्ष देखि भने कोषमा भएको रकम सबै कम्पनीलाई समान रुपमा वितरण गरिनेछ । 

प्राधिकरणले जारी गरेको निर्देशिकामा कम्पनीहरुको विगत दुई वर्षको व्यवसायको औसत हिस्सा गणना गरिएको छ । जसमध्ये सन नेपालको सबैभन्दा बढी बजार हिस्सा रहेको छ । सो कम्पनीको बजार हिस्सा ३०.३२ प्रतिशत छ । 

दोस्रोमा नेपाल लाइफको १७.२७ प्रतिशत, आइएमई लाइफको १२.४४ प्रतिशत, सूर्य ज्योतिको १०.०९ प्रतिशत, सानिमा लाइफको ७.२४ प्रतिशत, सिटिजन्सको ४.७० प्रतिशत, एशियन लाइफको ५.०७ प्रतिशत, नेशनल लाइफको ६.५७ प्रतिशत हिस्सा रहेको छ । महालक्ष्मी लाइफको ०.४८ प्रतिशत, रिलाबल लाइफको ५.८१ प्रतिशत हिस्सा रहेको छ । लिवर्टी माइक्रो, क्रेष्ट माइक्रो, गार्डियन माइक्रो, हिमालयन, मेट लाइफ, एलआइसी नेपाल र राष्ट्रिय बीमा कम्पनीले भने व्यवसाय नै गरेका छैनन् । 

सामूहिक बीमा कोषको स्थापना गरिने

वैदेशिक रोजगार म्यादी जीवन बीमा वापत प्राप्त हुने बीमाशुल्क र दाबी व्यवस्थापन गर्न बीमकहरुद्धारा सामूहिक बीमा कोष स्थापना गरिनेछ । सामूहिक बीमा कोषमा सदस्य हुने बीमक वैदेशिक रोजगार विभागमा सूचीकृत हुनुपर्नेछ । सदस्य भएको बीमक सामूहिक बीमा कोषमा समावेश हुनेछन् । 

हिमालयन पुनर्बीमा र नेपाल पुनर्बीमा कम्पनीले कोषको व्यवस्थापन गर्नेछन् । बीमालेख जारी गर्ने सदस्य बीमकले बीमालेख जारी गर्ने देखि दावी भुक्तानीसम्मको कामको लागि व्यवस्थापन खर्च स्वरुप बीमा शुल्कको एक प्रतिशत हुने रकम पाउनेछ ।