शीर्षकहरू

पूर्वनेता भुपेन्द्रः जो राजनीति त्यागेर एग्रो टुरिजम व्यवसायमा लागे

पूर्वनेता भुपेन्द्रः जो राजनीति त्यागेर एग्रो टुरिजम व्यवसायमा लागे

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य माधव थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम व्यवसाय थालेको २ वर्ष भयो । उनले राजनीतिको सहयोगी हुनुभन्दा रोजगारी सिर्जना र आत्मनिर्भरताका लागि व्यवसाय रोजेको बताए । 

उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा मैले रिर्सोट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ । 

उनले आफूले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । उनले भने ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि व्यक्तिगत रूपमा कुनै खालको अवसर पाइन । सधैँ अरूको भर्‍याङ हुनु भन्दा कुनै व्यवसाय गरेर आफू सहित अरूलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौँ र नयाँ पिँढीलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकूँ भन्नका लागि ऋणपान गरेर व्यवसाय थालेको हुँ ।’ 

थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकै ठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका हुन् । त्यसकारण उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अर्ग्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दूध दिने गाई छन् । जसले करिब २०० लिटर दैनिक दूध दिइरहेका छन् ।

बस्न, खान आउने पाहुनाहरूको माग पुरा गर्न दर्जनौँ हाँस, सयौँ लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्की र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुई पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ । 

करिब २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिट्टै उद्घाटन गर्ने लक्ष्य बनाएका माधव थापाले रिर्सोट निर्माणको काम करिब सक्किएको पनि बताए ।  

रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उद्घाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।

पारिवारिक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दूध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफ्नै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अर्ग्यानिक उत्पादनहरूको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खुशि जस्ता सबै खालका लोकल चीजहरूको उपलब्धता रिर्सोटमा रहेको उनले बताए ।

त्यसैगरी जुम्लाको मार्सी चामल, सिमी, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अर्ग्यानिक खानेकुरा आफ्नो रिर्सोटमा पाइने उनले बताए । उद्घाटन भएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको व्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफ्नो रिर्सोटमा ८–१० जनाले रोजगारी पनि पाएको थापाले बताए । 

साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरूका लागि लाइबेरी समेत बनाइने उनले सुनाए ।

अहिलेको राजनीति घृणित भएको, नेताहरू भष्ट्राचारमा लागेको र आफूहरू जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जीवन कृषि पर्यटनको क्षेत्रमा समर्पित भएर लाग्ने थापाले बताए ।