शीर्षकहरू

चीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने

चीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहायता दिने घोषणा गरेको छ । बिहीबार आयोजित महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता गरे । सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी छन् । 

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । 

बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ बताए । 

“चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ”, उनले भने, “आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन ९५० अर्ब ७९ करोड डलर० को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।”

उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि प्रतिबद्धता गरे । 

बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए । “गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ”, उनले भने ।