शीर्षकहरू

लगानीकर्ता नाफा बुक गर्न केन्द्रित हुँदा सुस्तायो शेयर बजार

लगानीकर्ता नाफा बुक गर्न केन्द्रित हुँदा सुस्तायो शेयर बजार

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरू नाफा बुक गर्न केन्द्रित हुँदा बजार सुस्ताएको बजारका जानकारहरु बताउँछन् । अघिल्ला केही साता उछाल आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)  कारोबार यो साता सुस्ताएको छ ।   

यस साताको पहिलो दिन आइतबार नेप्से ५३.६३ अंकले घट्यो । यसदिन १० अर्ब ५१ करोड ७६ लाख बराबरको मात्रै कारोबार भयो । आइतबारको कारोबारमा २०९ वटा कम्पनीको शेयरमूल्य घट्दा ३१ वटाको मात्रै बढ्यो ।    

सोमबारको कारोबारमा भने नेप्से उच्च अंकले बढ्यो । यस दिन नेप्से १२७.३२ अंकले बढेर दुई हजार ८ सय २३ विन्दुमा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेर यो दिन १३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जबकी आइतबारको कारोबार १० अर्बमा सीमित बनेको थियो ।  

नेप्सेको उकालो यात्रा मंगलबार पनि कायम नै रह्यो । यस दिन नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० विन्दुमा पुगेको थियो । यो दिन पनि १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।  

दुई कारोबारको दिन (सोमबार र मंगलबार) उकालो लागेको नेप्से बुधवार भने उच्च अंकले घट्यो । बुधवार नेप्से ९० अंकले घटेर दुई हजार ७ सय ३९ विन्दुमा कायम भयो । यो दिन कारोबार रकम पनि घटेर १२ अर्ब ९२ करोड ५६ लाख बराबरको शेयर खरिद बिक्री भयो ।

नेप्सेको गिरावट बिहीबार पनि कायम रह्यो । बिहीबार नेप्से १२ अंकले घटेर दुई हजार ७ सय २७ विन्दुमा झरेको हो । यस दिन कारोबार रकम पनि ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको मात्रै भएको छ ।

साताभरको नेप्से हेर्दा बजार सुस्ताएको देखिन्छ । केही साता अगाडी एकै दिन २९ अर्ब बराबरको कारोबार भएको नेप्सेमा विस्तारै सुस्ताएर कारोबार रकम घट्दो क्रममा रहेको छ । यस साता सुस्ताएको नेप्से आगामी साता के होला भन्ने आम चासो बनेको छ ।  

शेयर बजार अझै बढ्छ: लगानीकर्ता  

शेयर बजारबारे बाहिर नकारात्मक टिप्पणी गर्दा त्यसको असर बजारमा परेको शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘हाम्रोमा शेयर बजारबारे राम्रो भन्दा बढी नराम्रो प्रचार गरिन्छ । शेयर बजारबारे प्रधानमन्त्रीदेखि सांसदसम्मले नराम्रो भनेर भनिदिएका छन् यसरी नराम्रो टिप्पणी गरेकै कारण अहिले बजार घटेको हो ।’

तर, उनी विस्तारै बजार उकालो गतिमै जानेमा ढुक्क छन् । ‘अहिले तत्काल बजार घटे पनि विस्तारै यसले गति लिन्छ । ३२ सय विन्दु नाघ्छ । एक/दुई महिना समय लाग्ला । तर बजार बढ्छ नै, घट्ने वाला छैन ।’  

बजार बढेको बेलामा भएको कारोबारलाई लिएर धेरैले शेयर बजारमा कालोधन आएको हुनसक्छ भन्ने चर्चा गरेका थिए । तर, यसबारे रौनियारले आपत्ति जनाएका छन् । उनी भन्छन्, ‘हामीले आफ्नो मेहनत, पसिना बगाएर पुँजी बजारमा लगानी गरेका हौँ । लक्ष्मी भनेको धन हो । न यो कालो हुन्छ न त सेतो । हामीले लक्ष्मी लगानी गरेको हौँ । यसर्थ हामी लगानीकर्ता हो, व्यापारी हो, उद्योगपति हो । जुवा खेलेको होइन, जुवाडे हामी होइनौँ ।’

साथै उनले नेपाली लगानीकर्ताहरूमा धैर्यता नरहेको समेत बताए । रौनियारले भने, ‘नेपाली शेयर लगानीकर्ताहरूमा धैर्यता छैन । तातै खाऊ जस्तो गर्नुहुन्छ । बजार बढेको देखेर हौसिएर होमिने अनि घटेको बेलामा आत्तिइहाल्ने गर्नु हुन्छ । यो लगानीकर्ताहरूको लागि राम्रो होइन । लगानीकर्ताहरूमा धैर्यता हुनुपर्छ ।’

अर्का लगानीकर्ता केशव कोइराला शेयर बजार घटेको बेला लगानी थप्नु पर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘यदि तपाई दीर्घकालीन लगानीकर्ता हो भने बुलिस बजारमा बजारको अल्पकालीन गिरावटमा नाफामा रहेका प्रतिफल दिने कम्पनीहरू आत्तिएर  बेच्नु हुँदैन । बजार अझै तल झरेमा बरु त्यस्ता कम्पनीहरू अझै थप्दै जानुपर्छ ।’

लगानीकर्ताहरूले नाफा बुक गर्नतिर लाग्दा बजारमा सामान्य करेक्सन आएको लगानीकर्ता राजन लम्साल बताउँछन् । उनी भन्छन्, ‘छोटो समयमा बजार धेरै नै बढेको थियो । अहिले बजार करेक्सन फेजमा गएको छ । अहिलेको बजार गिरावटका कारण प्रोफिट बुक गर्नमा लगानीकर्ताहरूको ध्यान गएको पनि मुख्य हो ।’  

त्यस्तै, उनले आगामी साता शेयर बजार बढ्ने समेत बताए । लम्सालले भने, ‘आगामी सातादेखि शेयर बजारमा त्यस्तो ठूलो उतारचढाव आउँदैन । बजार सामान्यरुपमा अगाडी बढ्छ । बजारले आफ्नो लय समातेर अगाडी बढ्छ ।’