शीर्षकहरू

हाँडीगाउँको शनिबारे मेला: गरौँ हावाको कुरा (फोटोफिचर)

हाँडीगाउँको शनिबारे मेला: गरौँ हावाको कुरा (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा हरेक शनिवार दिउँसो बाक्लो भिड लाग्ने गर्छ । जहाँ सवारीसाधनलाई प्रवेश निषेध गरेर मेला लाग्ने गर्दछ । 

मेलामा विभिन्न परिकारहरू, सांस्कृतिक, इको प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरू हुने गर्छ । विशेषगरि यस ठाउँमा हावाको चर्चा हुने गर्छ । काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउन यहाँ हरेक शनिवार यसबारे चर्चा हुने गर्छ ।  

केही महिना अगाडीदेखि नै काठमाडौं महानगरपालिकाले यूएसएआईडीको स्वच्छ हावा परियोजनासंगको सहकार्यमा ‘हावाको कुरा गरौँ’ अभियान थालेको हो । जसमा महानगरको सम्पदा तथा पर्यटन विभाग र काठमाडौं महानगरपालिका वडा–५ को सहकार्य रहेको छ । 

वायु प्रदूषण बढाउने प्रदूषक तत्त्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप अभियानले गरिरहेको छ । 

वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोकहुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । यसदिन हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । यसबाट स्थानीयहरूको आयमा टेवा पुग्न थालेको छ ।

यसका लागि यूएसएआईडीको स्वच्छ हावा परियोजनासँग सम्बन्धित एन्फोलगायत संघ संस्थाहरूले, स्थानीय कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि सूचना तथा जानकारीमूलक छलफल र प्रदर्शनी गर्ने गरेका छन् । 

आज शनिवार पनि निलो आकाशका लागि स्वच्छ वायु मेला भएको छ । मेलामा चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, इको प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरू भएका छन् ।