शीर्षकहरू

अर्थ समितिको बैठक :  बैकिङ कसुर तथा सजायसम्बन्धी छलफल हुने

अर्थ समितिको बैठक :  बैकिङ कसुर तथा सजायसम्बन्धी छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित अर्थ समितिको कक्षमा बस्ने उक्त बैठकमा बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सचिवालयले जनाएको छ । 

 चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले जोड दिएका छन्। संसद्को अर्थ समितिको यभन्दा पहिलाको बैठकमा सांसदहरुले कुनै हदम्याद नराखी पीडितले न्याय पाउनेगरी कानुनी प्रबन्ध गर्दा सहज हुने धारणा राखे थिए।

 म्याद राखेर जाँदा पीडित थप पीडित हुने भएकाले तत्काल अदालत वा प्रहरीमा जान सक्नेगरी कानुनी प्रबन्ध गर्दा जायज हुने केही सांसदको मत थियो। यस्तै, केही समय मेलमिलापका लागि समय दिँदा पनि फरक नपर्ने मतसमेत बैठकमा व्यक्त भएको थियो। अदालत वा प्रहरीमा जाँदा पीडितले न्याय पाउन लामो समय लाग्ने भएकाले मेलमिलापका लागि केही समय राख्दा ठीक हुने उनीहरुको धारणा थियो।

बैठकमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, वर्षमान पुन, डा प्रकाशरण महतलगायतले विधेयकको समग्र पक्षबारे धारणा राख्दै समसामयिक र वस्तुनिष्ठ रुपमा कानुन निर्माण हुनुपर्ने धारणा राखेका थिए।  अदालतमा मुद्दा पुग्दा वर्षौँसम्म पनि फैसला नहुने, पीडित झन् पीडित हुने भएकाले समग्र पक्षलाई ख्याल गरेर उपयुक्त प्रावधान राख्दा कानुन निर्माणको मक्सदसमेत पूरा हुने सांसदहरुको कथन थियो।