शीर्षकहरू

एजेन्ट कम्पनी खडा गरेर अवैध रुपमा गाडी आयात, जी मोटर्सले आपत्ति जनाउँदै निकाल्यो विज्ञप्ति

एजेन्ट कम्पनी खडा गरेर अवैध रुपमा गाडी आयात, जी मोटर्सले आपत्ति जनाउँदै निकाल्यो विज्ञप्ति

काठमाडौं । एलआरआरले एजेन्ट कम्पनी खडा गरेर अवैध रुपमा गाडी आयात गरेपछि स्काइवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । जी मोटर्सले २०२३ को नाडा अटो शोमा स्टल राखेर प्यासेन्जर कार तथा एसयुभी प्रडक्टको आधिकारिक वितरकका रुपमा गाडी बिक्री गरिरहेको छ ।

गएको नाडा अटो शो २०२४ मा  इटी५–६२० (६२० किमी), बिई ११ (५२० किमी र ४२० किमी) शोकेस गरेको थियो । तर हालै स्काइवेलकै गाडी आयात गरेर एलआरआर मोटर्स र एलआरआर ग्रुपले दैनिक पत्रिकामा मूल्यसूची सार्वजनिक गरेपछि जी मोटर्सले विज्ञप्ति निकालेको हो ।

कम्पनीले २०८१ साल वैशाखदेखि औपचारिक रुपमा नेपालमै पहिलो लङ्ग रेन्ज ६२० किमी रेन्ज दिने प्रिमियम एसयुभी स्काइवेलको बिक्री सुरु गरेको थियो । हाल जी मोटर्सले तीन वटा शोरुम राधेराधे–भक्तपुर, नक्साल–काठमाडौं र इटहरी–सुनसरीबाट बिक्री वितरण गरिरहेको छ । सर्विस र पार्ट्स सेवा भक्तपुरबाट गरिरहेको छ । 

तर एलआरआरले आफू आधिकारिक इम्पोटर्स भनेर मूल्यसूची निकालेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जी मोटर्सबाट जारी विज्ञप्तिमा भनिएको छ । स्काइवेलका गाडी उत्पादन चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले जी मोटर्स प्रालि बिक्रेता लेखिपठाएको भन्दै जी मोटर्सले बजारमा आम ग्राहकलाई भ्रम फैलाउन खोजिएको, आफ्नो कम्पनीको ख्यातिलाई असर पुर्‍याइएको र अर्बौँको लगानी डुबाउने प्रपञ्च गर्ने कार्य भएकाले त्यसो नगर्न एलआरआरलाई सचेत गराएको छ ।

नेपालमा सवारीसाधन आयात गर्दा उत्पादन कम्पनीले आधिकारिक बिक्रेताको नियुक्त गरेको हुनुपर्छ । मूल कम्पनीले जी मोटर्सलाई  एक्सक्लुसिभ आधिकारिक बिक्रेता दिएकाले अन्य कम्पनीले स्काइवेलका गाडी आयात गर्न पाइँदैन । तर​​​​​एलआरआरले हङकङमा एजेन्ट कम्पनी खडा गरेर स्काइवेलका गाडी आयात गरेको आरोप जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको छ ।

आधिकारिक स्काइवेलका उत्पादक कम्पनी एबम एक्स्पोर्ट डिभिजन हेर्ने प्रतिनिधिले हालसम्म नेपालमा जी मोटर्सबाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने लिखित जानकारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको उनले बताएका छन् ।

हङकङस्थित एजेन्ट कम्पनीसँग गरिएको झूटो सम्झौतालाई आधार बनाइ वाणिज्य विभागको मिलोमतोमा स्काइवेलका प्यासेन्जर कार तथा एसयुभी आयात गर्ने प्रयास गर्नु आफैँमा गैरकानुनी हुनुका साथै आफूहरूले बिक्री गरिरहेका वस्तुबारे एलआरआरले भ्रम सिर्जना गरेकाले कानुनी उपचारमा जाने प्रबन्ध निर्देशक गेलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

'नेपाल सरकार एवम् वाणिज्य विभागले असल नियतले कार्य गर्ने व्यवसायीलाई सधैँ संरक्षणको नीति लिनुपर्ने एबम् एक आधिकारिक बिक्रेता उत्पादक कम्पनीले नियुक्ति गरेको अवस्थामा र अब लगानी गरेका सबै व्यवसायीलाई उनीहरुको व्यावसायिक वतावरणमा खलल पुग्न नदिने नीति नियम कार्यन्वन गराउनहुन अनुरोध पनि गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उक्त कम्पनीले आम ग्राहकहरुलाई भ्रममा पार्ने कार्य गरेकोले उक्त कार्यप्रति जी मोटर्स प्रालि खेद प्रकट गर्दछ ।'