शीर्षकहरू

प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद्‌को बैठक जारी

प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद्‌को बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्‌को बैठक जारी छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्‌को बैठक डाकेका हुन् ।

गत बुधबार नै परिषद्‌को बैठक तय भएकोमा स्थगित भएको थियो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागिप्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदीको नाम प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदको सचिवालयमा पठाएको हो ।

अहिलेसम्मको अभ्यास अनुसार, संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएकाले राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना रहेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरुको सूची पठाएको थियो । 

प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीले बिहीबार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् ।