शीर्षकहरू

इन्द्रध्वजासहितको लिङ्गो ठडाएर सुरु भयो इन्द्रजात्रा [तस्वीरहरू]

इन्द्रध्वजासहितको लिङ्गो ठडाएर सुरु भयो इन्द्रजात्रा [तस्वीरहरू]
सबै तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । काठमाडौंस्थित हनुमानढोका दरबारअगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर काठमाडौंकै ठूलो जात्रामध्ये एक इन्द्रजात्रा सुरु भएको छ । इन्द्रजात्राका अवसरमा आइतबार बिहान शुभसाइत पारेर मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो ठड्याइएको हो ।

३२ फिट अग्लो लिङ्गो ठड्याएपछि राजधानीमा ८ दिने जात्रा पर्व शुरू हुन्छ । यो काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ . सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ । 

आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको किंवदन्ती छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थालेको किंवदन्ती छ ।

​​​​​​​