शीर्षकहरू

यस वर्षको प्रधानसेनापति ट्रफी सुरु

यस वर्षको प्रधानसेनापति ट्रफी सुरु

काठमाडौँ । नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे । 

आगामी असोजसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । जङ्गी अड्डालगायत उपत्यकाका विभिन्न वाहिनी, गण, तालिम केन्द्र, पृतनामा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, पौडी र जुडो खेल सञ्चालन हुनेछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष  प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।

यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र  महिलातर्फ एञ्जिला कार्की प्रथम भएका छन् । कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो ।