शीर्षकहरू

रि-टेस्ट गरेर ओर्लियो बजार

रि-टेस्ट गरेर ओर्लियो बजार

काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार पनि घटेको छ । कारोबार सुरु हुँदा बढेको बजारमा मध्यान्हपछि भने विस्तारै घट्न थालेको हो । अन्तिममा ५०.७३ अंकले घटेको नेप्से परिसूचक २६३७.७९ विन्दुमा समेटिएको छ  । 

गत वैशाख २६ गते १९६० रहेको नेप्से परिसूचक निरन्तर रुपमा बढेर गत साउन ३१ गते ३०००.८१ विन्दुमा पुगेको थियो । त्यसपछि भने घट्न थालेको बजारमा निरन्तर बियरिस प्रवृतिमा देखिएको छ । गत भदौ २ गते ओरालो लागेको बजार अहिले पनि बियरिश ट्रेडमा नै छ । यो अवधिमा परिसूचक ३७०.७ अंकले घटेको छ । कारोबार रकम पनि २८ अर्ब ८३ करोडबाट घटेर १० अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । 

नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेपछि नयाँ लगानीकर्तामा भने निराशा देखिएको छ । तर, पुराना लगानीकर्ताले भने यसलाई बजार करेक्सन भएको बताइरहेका छन् । बजार बढेपछि केही दिन बजार घट्नु स्वभाविक भएको शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले बताए । ‘अहिले धेरै मानिसहरू प्राविधिक रुपमा विश्लेषण गर्न थालेका छन् । प्राविधिक विश्लेषणका कारण पनि मानिसहरू यतिबेला पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । 

पैसा भने बजारबाट पलायन नभएको उनको दाबी छ । मान्छेहरुसँग पैसा छ । तर, बजार अझै घट्ला भन्ने अपेक्षा भएको उनले दाबी गरे । 

त्यस्तै, नेपाल स्टक ब्रोकर एशोसियनका पूर्वअध्यक्ष भरत रानाभाटले औसतमा बजार खासै घटेको भन्न नमिल्ने बताउँछन् । ‘औसतमा हेर्ने हो भने बजार घटेको हैन । तीन हजारबाट २६ सयसम्ममा आउनु भनेको खासै घटेको हैन,’ उनले भने । 

छोटो अवधिमा बजार एक्कासि बढ्यो । त्यसैले घट्दा पनि एक्कासि घटेको उनले बताए । ‘बजार पनि त एक्कासि बढ्यो । बढ्दा विस्तारै बढेको भए घट्दा पनि त्यही प्रवृत्ति हुन्थ्यो । यद्यपि अहिलेको अवस्थालाई बजार घटेको भन्न नमिल्ने उनले बताए । 

 
 रि-टेस्ट गरी फर्कियो बजार 

नेप्सेले अहिले हेड एण्ड सोल्डरको आकृति बनाएको छ । प्राविधिक विश्लेषण अनुसार यसलाई रिर्भसल प्यार्टन भनिन्छ । नेप्सेले यस्तो आकृतिमा बनाएमा बजार जुन प्रवृत्तिमा छ त्यसबाट फर्कने संकेत गर्छ । 

नेप्सेमा अहिले बनेको यो प्यार्टनले बजार केही समय अझै घट्न सक्ने संकेत गर्छ । यो आकृतिमा तीन वटा उचाई हुन्छ । यो प्यार्टनमा दायाँबाट बनेको उचाई क्रमश बायाँ पनि बन्छ । दुई साइडमा बनेको उचाईभन्दा बीचमा बन्ने उचाई अलि बढी हुन्छ । 

पहिलो उचाई पछि बजार केही घट्छ । फेरि अर्को उचाई बनाउँछ । दोस्रो उचाई पहिलो उचाई  भन्दा माथि हुन्छ । दोस्रो उचाईबाट पुन घटेर फेरि बढेपछि अर्को अर्थात् तेस्रो उचाई बनाउँछ । तेस्रो उचाई दोस्रो उचाईभन्दा सानो हुन्छ । तेस्रो उचाईबाट झरेको सूचक केही तल झरेर ब्रेक आउट विन्दु बनाउँछ । त्यसपछि थोरै रि-टेस्ट गर्छ । त्यसपछि बजार पुन: घट्न थाल्छ । 

नेप्सेमा बनेको यो आकृतिले २८०० मा पहिलो उचाई बनायो । ३०५४ मा दोस्रो उचाई बनायो । तेस्रो उचाई २८५९ मा बनाएको छ । पहिलो उचाईबाट घटेपछि नेप्से २६४८ बाट फर्कियो र ३०५४ को उचाई (हेड) बनायो । त्यसपछि बजार घटेर २६८१ मा पुग्यो । फेरि बजार २८५९ मा पुगेर फर्किएको थियो । 

यो आकृतिमा २५९२ ब्रेक आउट विन्दु बनाएको छ । ब्रेक आउट बजारले रि-टेस्ट गरेको छ । गत बिहीवार बजार बढ्यो अर्थात् रि-टेस्ट गर्‍यो । आइतबार फेरि बजार घट्न थालेको छ 

आरएसआई

नेप्सेको पछिल्लो प्रवृत्तिको आरएसआई (रिलेटिभ स्टे«न्थ इन्डेक्स) आकृतिले पर्ख र हेरको संकेत गरेको छ । बजार घटेसँगै आरएसआई पनि डाउन टे«ण्डमा देखिएको छ । त्यसैले यतिबेला खरिद वा विक्री गर्ने निर्णय गर्नुभन्दा पनि पर्ख र हेरको अवस्थामा रहनु उचित हुने प्राविधिक विश्लेषणले देखाउँछ  । 

आरएसआईमा ७० अंकलाई विक्री संकेत र ३० अंकलाई  खरिदको संकेत मानिन्छ । नेप्सेको आरएसआई ४० अंकको नजिक छ । त्यसैले यसलाई आधार मान्ने हो भने अहिले बजारमा कारोबार गर्नुभन्दा पनि पर्खनु उपयुक्त देखिन्छ । 

पिभट पोइन्ट 

नेप्सेको कारोबार अहिले बनाएको पिभट टेबलले बजारले २५७०.९० मा पहिलो टेवा पाउने देखाउँछ । त्यसपछि पनि बजार घटेको २३९२ मा टेवा पाउने देखाएको छ भने २१५३ विन्दुलाई तेस्रो टेवा देखाएको छ । 

त्यस्तै, बजारले पहिलो प्रतिरोध २९८८.१९ मा पाउने देखिन्छ । दोस्रो प्रतिरोध ३२२६ र तेस्रो प्रतिरोध ३४०५ मा पाउने देखाउँछ । 

प्राविधिक विश्लेषण अनुसार पिभट टेबललाई विश्वसनीय आधार मानिन्छ । 

मुभिङ्ग एभरेज 

नेप्सेमा बनेको मुभिङ्ग एभरेजको आकृतिले यतिबेला बजार वियरिश ट्रेण्डमा लागेको देखाउँछ । १४ कारोबार दिन अघि मुभिङ्ग एभरेजको लाइनले नेप्से परिसूचकलाई तलबाट काटेर माथि गएको छ । प्राविधिक विश्लेषण अनुसार तलबाट काटेर माथि गएको अवस्थामा बजार घट्ने संकेत गर्छ  । 

आइतबार फेरि मुभिङ्ग लाइनले परिसूचकलाईछोएको छ । यसले २६३७ को टेवा पाएर मुभिङ्ग एभरेजको लाइनमाथि फर्कियो भने बजार घट्न सक्छ । तर, लाइन काटेर सिधै तल झर्‍यो बजार बढ्न सक्ने सक्छ ।