शीर्षकहरू

अपि पावरको साधारणसभा कात्तिक १ गते, लाभांश समेत पारित हुने

अपि पावरको साधारणसभा कात्तिक १ गते, लाभांश समेत पारित हुने

काठमाडौं । अपि पावर लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशलाई समेत सभाले अन्तिम स्व्किृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावहरूसँगै अपि पावरको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यस कम्पनीको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा समेत लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा) निर्माण गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।

साथै कम्पनीले दार्चुला पावर कम्पनीमा लगानी गरी मध्ये चमेलिया जलविद्युत आयोजना (२८.३ मे.वा) निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा) को निर्माण अन्तिम चरणमा भैरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ ।

सभाले १ महिला तथा १ स्वतन्त्र समेत गरी पाँच सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।