शीर्षकहरू

कुमारी बैंकले बिक्रीमा ल्यायो २४ लाख कित्ता संस्थापक शेयर

कुमारी बैंकले बिक्रीमा ल्यायो २४ लाख कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

१५ हजार ४०० कित्ता शेयर खरिदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्रीमा आएको शेयर खरिदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने शेयरका लागि असोज १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । अन्य व्यक्ति तथा संस्थाका लागि समेत बिक्रीमा आएको २४ लाख २२ हजार ५४८ कित्ता शेयर खरीदका लागि भने असोज २ गतेदेखि आवेदन पेश गर्नुपर्नेछ ।

अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा आएको कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने अन्य व्यक्ति तथा संस्थाहरूले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।