शीर्षकहरू

बैंक खाता रोक्का र फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

बैंक खाता रोक्का र फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था गरेको छ । बैंक खाता रोक्का र फुकुवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नियमावली-२०८१ जारी भएको हो ।

यो विनियमावली भोलि (असोज १)देखि लागू हुनेछ । यसअघि पनि बैंक खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था भए पनि छुट्टै विनियमावली जारी भएको थिएन । 

राष्ट्र बैंकले पहिलोपटक स्वचालित प्रणालीसम्बन्धी व्यवस्था गरेको छ । खाता रोक्का वा फुकुवासम्बन्धीे अनलाइन प्रणाली विकास गरी सोसम्बन्धमा आवश्यक निर्देशन जारी गर्न सक्नेछ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्था तथा प्रचलित कानुनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने बताइएको छ ।

खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । 

कस्तो अवस्थामा रोक्का गर्न सकिन्छ ?
प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिनेछ ।

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण, कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण, आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अङ्कमा) र खाता रहेको बैंकको विवरण, तर प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने व्यवस्था गरिएको छ ।

प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीलेराष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीलेराष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ । यस्तो पत्र इमेलमार्फत समेत पठाउन सकिनेछ ।

कस्तो अवस्थामा फुकुवा गर्न सकिन्छ ?
खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुनेछैन ।

यस्ता खाता हुने छैनन् रोक्का 
राष्ट्र बैंकले विनियमालीमार्फत् खाता रोक्कासम्बन्धी विशेष व्यवस्था गरेको छ । जसअनुसार इजाजतपत्रप्राप्त संस्था र भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का हुने छैनन् । 

तर अल्पकालीन वा दीर्घकालीन रूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा वा अनुसन्धान गर्ने अधिकारीले कारणसहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा सोको औचित्य विश्लेषण गरी उपविनियम (१) र (२) मा उल्लिखित उपर्युक्तबमोजिमको संस्थाको खाता रोक्का गर्न भने बाधा नपुग्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नु अघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारीप्रतिको दायित्व रकमसमेत खुलाई विवरण पेस गर्नुपर्ने छ । उक्त अनुरोधका सम्बन्धमा राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारीप्रतिको दायित्व बराबरको रकम रोक्का राख्ने गरी इजाजतपत्रप्राप्त संस्थाहरूलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्नेछ ।