शीर्षकहरू

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव

विजनेश प्लान बनाएर अघि बढ्नुस्, मन्त्रालय साथमा छः मन्त्री भण्डारी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड स्थापनाले ५४औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका अध्यक्ष छपिराज पन्तको सभापतित्व एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा ५४औं वार्षिकोत्सव मनाएको हो । 

नयाँ बानेश्वर स्थित द एभरेष्ट होटलमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी मन्त्री भण्डारीले ५४औं वर्षको समय अवधिमा कम्पनीले धेरै आरोह अवरोध पार गरेको बताए । कम्पनीले आगामी दिनमा विजनेश प्लान बनाएर अघि बढ्नुपर्ने धारणा मन्त्री भण्डारीले राखे । 

‘कम्पनीको क्षेत्राधिकारलाई उन्नत बनाउनु पर्छ । लामो समय काम गरेको साथीहरु हुनुहुन्छ । अरु साझेदार संस्थाहरु पनि छन् । ठोस्कार्ययोजना बनाएर अघि बढ्नुको विकल्प छैन’, उनले भने, ‘अहिलेकै स्थितीमा लिएको लक्ष्य पूरा गर्न सम्भव छैन । थुपै चुनौती, जटिलता छ यसलाई चिरेर जानुपर्छ । अब व्यवसायिकतातर्फ अघि बढ्नुपर्छ । मन्त्रालय साथमा छ ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कम्पनीले थप सेवा विस्तार गर्नेपर्नेमा जोड दिए । कम्पनीलाई चुस्त दुरुस्त बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताउँदै उनले संस्थागत पुर्नसंरचना गरी शाखा पनि विस्तार गर्नुपर्नेमा उनले जोड दिए । 

कम्पनीका अध्यक्ष छपिराज पन्तले स्थापनाको ५४औं वर्षमा आईपुग्दा कम्पनी संचालन, व्यवस्थापन र कार्य सम्पादनलाई सहज र प्रभावकारी बनाउने यात्रामा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने निकायहरुप्रति हार्दिक आभार व्यक्त गरे । आगामी दिनमा कम्पनीले नेपालको आयात निर्यात व्यापार, गोदाम संचालन एवं पारवहन सहजीकरणको क्षेत्रमा अझै विशिष्ट र परिष्कृत भूमिका खेल्ने प्रतिवद्धता जनाए ।  

त्यस्तै, कार्यक्रममा कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले व्यावसायिक योजना निमार्ण गरी कम्पनीलाई अघि बढाउने बताए । हल्दिया स्थित लिज जमिनमा कोइला भण्डारका लागि पूर्वाधार निमार्ण सुरुवात गर्ने, कोलकत्ता पोर्ट स्थित लिज जमिनमा पूर्वाधार निमार्णमा नीजि लगानी साझेदारी आव्हान गर्ने, कोलकत्तादेखि नेपालसम्म ट्रक ढुवानी सेवा सञ्चालनका लागि विजनेश मोडल तयार गर्ने योजना रहेको बताए ।