काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि ५०.७३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि उच्च अंकले घटेर बन्द भएको छ । आज ५७.०३ अंकले घटेर नेप्से २५८०.७६ बिन्दुमा झरेको हो ।
यसदिन सबै उपसमूहको शेयरमूल्य घटेको छ ।
आज २२७ कम्पनीको शेयर मूल्य घट्दा १४ कम्पनीको शेयर मूल्य भने बढेको छ । जसमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालय हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत गुमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरको ९.३६, नेपाल फाइनान्सको ८.४२ र स्वाबलम्बी लघुवित्त वित्तीय संस्थाको ८.२८ प्रतिशतले शेयरमूल्य ओरालो लागेको छ ।
कारोबारका हिसाबले आज सबैभन्दा बढी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ३६ करोड रुपैयाँको १ करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।