शीर्षकहरू

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौं । आम आदमी पार्टीकी नेत्री आतिशी भारतस्थित दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ । अरविन्द केजरीवालको निवासमा भएको विधायक दलको बैठकमा आपका सबै नेताहरूले आतिशीको नाम अनुमोदन गरेको नेता गोपाल राईले मंगलबार सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् ।

मुख्यमन्त्रीमा निर्वाचित हुने भएपछि आतिषीले भनिन्, ‘जबसम्म म सीएम हुनेछु, मेरो एउटै लक्ष्य अरविन्द केजरीवाललाई फेरि सीएम बनाउने हो । साथै दिल्लीका जनतालाई बचाउने प्रयास गर्नेछु। म अरविन्द केजरीवालको निर्देशनमा काम गर्नेछु।'

अरविन्द केजरीवालको राजीनामाबारे आतिशीले भनिन्, ‘म पनि दुखी छु कि अरविन्द केजरीवालले आज राजीनामा दिनुभएको छ । आज दिल्लीका दुई करोड जनताको तर्फबाट म भन्न चाहन्छु कि दिल्लीको एक मात्र मुख्यमन्त्री छ र उनको नाम अरविन्द केजरीवाल हो।' यसअघि गोपाल राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताएका थिए । उनले भनेका थिए, 'भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ। तर हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं।'

अरविन्द केजरीवालले राजीनामा दिएपछि पार्टीको विधायक दलको बैठकमा अतिशीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । विधायक दलको बैठकमा अरविन्द केजरीवाल आफैंले आतिशीको नाम प्रस्ताव गरेका थिए । आइतवार, जब अरविन्द केजरीवालले आम आदमी पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने भनेका थिए, आतिशीको नाम पनि यो पदको दौडमा समावेश थियो।

तर, उनीहरु बाहेक गोपाल राई र कैलाश गहलोतका साथै अरविन्द केजरीवालकी श्रीमती सुनिता केजरीवालको नाम पनि चर्चामा आएको थियो । तथापि ४३ वर्षीया अतिशीको नाममा शिल लगाइएको छ । आतिशी विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनेछन् ।