शीर्षकहरू

रविलाई सूर्य थापाको प्रश्न– कारबाहीका लागि सिफारिस गर्ने भनेको अंग्रेजीमा क्लिन चिट हो?

रविलाई सूर्य थापाको प्रश्न– कारबाहीका लागि सिफारिस गर्ने भनेको अंग्रेजीमा क्लिन चिट हो?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री तथा गोरखा मिडिया नेटवर्कले ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई क्लिन चिट नदिएको प्रष्ट पारेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले लामिछानेसहित रास्वपाका अन्य नेताहरूले क्लिन चिट पाएको भन्ने सवालमा भने, 'जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने‍ मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने? क्लिन चिट कहाँ छ? कुन लाइन, कुन प्याराग्राफमा छ ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ? सफाइ हुन्छ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो? कुन विश्वविद्यालयमा हो।'

उनले उक्त प्रतिवेदन रास्वपाका सदस्य शिशिर खनालसमेत सबै सदस्यको सर्वसम्मतिमा लामो समय सूक्ष्म अनुसन्धानपश्चात् तयार गरिएको बताए । उनले भने, 'हामीले त नाम किटान गरेर । समितिले गरेको सर्वसम्मत निर्णय त्यही हो । के निर्णय भएको भन्ने सबैका निम्ति सार्वजनिक तथ्य हो । सबै माननीयज्यूले त्यो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । अघिल्लो राति साढे दुई बजे त्यसमा सहमति भएको र संसद्‌मा रिपोर्ट पेस गर्न जानुअगाडि दुई बज्न १० मिनेट अगाडि मात्रै माननीय शिशिर खनालले हस्ताक्षर गर्नुभयो । १५ मिनेट अगाडि मैले हस्ताक्षर गरेँ । त्यसअघि अन्य माननीयले हस्ताक्षर गर्नुभयो । हामीले हस्ताक्षर गरेको डकुमेन्ट त्यही हो ।'

सुझाव र सिफारिसको चार नम्बर बुँदामा लामिछानेसहित गोरखा मिडियाका चार जना सदस्य जीबी राई, छविलाल जोशी र कुमार रम्तेललाई स्पष्ट रुपमा प्रचलित कानुनअनुसार कारबाहीका सिफारिस गरेको उनले स्पष्ट पारे । 

रास्वपा सभापति लामिछानेले आफूले क्लिन चिट पाएको दाबी गर्दै आएका छन् । उनले समितिको प्रतिवेदन पेस भएपछि सोमबार नै संसद्‌मा आफूले क्लिन चिट पाएको दाबी गरेकोमा हिजो रास्वपाको राष्ट्रिय भेलामा पनि सोही दाबी गरे । उक्त विषयमा सभापति थापाले भने, 'कुन समितिले दिएछ क्लिन चिट ? कारबाहीको सिफारिस भनेको क्लिन चिट हुन्छ अंग्रेजीमा ?'

उनले आफूले संसद्‌मै गोरखा मिडियाले खर्च गरेको रकममध्ये ६५ करोडभन्दा बढी रकम पाँच वटा सहकारीबाट आएको उनले बताए । सहकारीको पैसा गोरखा मिडियामा सिधै गोरखा मिडियाको खातामा रविको एकल हस्ताक्षरमा समेत गएको जानकारी उनले दिए । सहकारीको पैसा बोरामा आयो कि, मलेसियाबाट घुमेर आयो कि, भारतबाट घुमेर आयो कि कसरी आयो त्यो महत्वपूर्ण कुरा नभएको र पैसा गोरखा मिडियामा कहाँ-कहाँबाट पुगेको छानबिन गरेको पनि बताए । 

उनले कारबाहीका लागि सिफारिस गरेको भनेको सफाइ नभएको भन्दै गुगलमा गएर अनुवाद गर्न पनि सुझाव दिए ।