शीर्षकहरू

सर्वसाधारणका लागि खुल्यो धरहरा, चढ्न पुग्नेको भिड

सर्वसाधारणका लागि खुल्यो धरहरा, चढ्न पुग्नेको भिड
तस्वीर : हरिराम भेटुवाल/रासस

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा २०७२ को महाभूकम्पमा परी क्षतिग्रस्त भएपछि सोही ठाउँमा निर्माण गरिएको अर्को धरहरा आजदेखि सर्वसाधारणका लागि खुलेको छ ।

गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको हो । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लगाइएको छैन ।

धरहरा खुलेपछि चढ्न पुग्ने सर्वसाधारणको भिड लागेको छ ।

२०७२ बैशाख १२ को भूकम्पका कारण ढलेको धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको हो । २०७२ मा ढलेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको हो । विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो । यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।

२०७८ वैशाख ११ पूर्ण रुपमा काम नसकिई त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे पनि निर्माण सम्पन्न हुन नसकेका कारण सञ्चालनमा आउन नसकेको हो । अझै धरहराको २ प्रतिशत जति काम बाँकी रहेको बताइएको छ । निर्माणको केही काम बाँकी रहेकाले तत्काल सरकारले अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

धरहराबाट देखिएको दृष्य

धरहरामा सेल्फी लिँदै सर्वसाधारण