शीर्षकहरू

वाणिज्य बैंकहरुले दिए साढे ७१ अर्ब शेयर धितो कर्जा

वाणिज्य बैंकहरुले दिए साढे ७१ अर्ब शेयर धितो कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले साउनसम्ममा ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्दा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा नै प्रवाह नगरेको देखिन्छ । यस अवधिमा नबिल बैंकले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । 

सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । साउनसम्म यस बैंकले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । यस अवधिमा नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गर्दा सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ । 

तथ्यांक अनुसार कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ शेयर धितो कर्जा दिएका छन् ।  

त्यस्तै, यस शीर्षकमा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ दिएको छ । यस अवधिमा प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ र हिमालयन बैंकले १ करोड ९१ लाख ९५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । 

साउनसम्म एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । यो शीर्षकमा नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

शेयर धितो कर्जासम्बन्धी सीमा

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने शेयरको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ । सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जाको सीमा कायम राख्न सकिन्छ ।  

शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्दछ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल १५ करोड रुपैयाँ (कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट कुल)कायम रहेको छ ।