शीर्षकहरू

सुरु भयो दशैँलक्षित शुपथ मूल्य पसल, ३ करोड रुपैयाँको सामग्री बिक्री गरिने

सुरु भयो दशैँलक्षित शुपथ मूल्य पसल, ३ करोड रुपैयाँको सामग्री बिक्री गरिने
फाइल तस्वीर

काठमाडौं ।  दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौं उपत्यकासहित देशैभर सुपथ मूल्य पसल सञ्चालन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारबाट स्वीकृत ३ करोड रुपैयाँ बराबरको सामग्रीसहित ४२ जिल्लामा ६३ स्थानहरूबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । 

२०८१ भदौ २३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सुपथ मूल्य पसल सञ्चालन भएको हो । नेपालीहरुको प्रमुख चाड दशैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्याधिक हुने गरेकाले उक्त माग पूर्तिका लागि सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।

गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावरण तयार गर्ने, निजी क्षेत्रहरु विशेष गरी नाफा केन्द्रित रहने गरेको वर्तमान परिप्रेक्षमा बजार मूल्य अस्वभाविक रुपमा बढ्न सक्ने अवस्था रहेकाले त्यसलाई नियन्त्रण गर्न, बजारमा सरकारको उपस्थितिबाट बजार मूल्य स्थिरिकरणमा सहयोग गर्न, उपभोक्ताको सम्पूर्ण माग धान्ने गरी सरकारले व्यापार गर्नुभन्दा निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धा मार्फत व्यापार गर्न उत्प्रेरित गर्न र आवश्यक सहजीकरण र समन्वय गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन आजदेखि आगामी पुस २ गतेसम्म सञ्चालन हुने बताइएको छ । काठमाडौँ उपत्यकाका ४ स्थानहरु थापाथली, रामशाहपथ, नख्खु र  सूर्यविनायकका विक्री कक्षमा सुपथ मूल्य सञ्चालन गरिएको छ । अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा पनि दिइएकव कम्पनीले जनाएको छ ।

कम्पनीले यस अवधिमा ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ । विभिन्न प्रकारका चामल र दालमा प्रतिकिलो रु ५ छुट, विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकिलो/लिटर रु ७ छुट, कर्णालीको सिमी र गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सी प्रतिकिलो रु ७ छुट, जिउँदो खसीबोका र च्याङ्ग्रा, डीडीसी घिउमा प्रतिकिलो रु १० रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अवधिमा खसीबोका १५०० वटा, च्याङ्ग्रा ३०० वटा गरी जम्मा १८०० वटा बिक्री गर्दैछ । यी वस्तु मकवानपुर,  तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रबाट खरिद गरिँदैछ । खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय, थापाथली, काठमाडौं परिसरबाट घटस्थापनादेखि कम्तीमा नवमीसम्म बिक्री गरिने कम्पनीले जनाएको छ ।