शीर्षकहरू

निर्मला कुर्मीलाई न्याय दिलाउन सरकारी बेवास्ता, ४१ दिनदेखि आन्दोलनमा रुबी खान

निर्मला कुर्मीलाई न्याय दिलाउन सरकारी बेवास्ता, ४१ दिनदेखि आन्दोलनमा रुबी खान

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-१७ की एनिर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि तीन वर्षअघि २०७८ असोजदेखि काठमाडौं केन्द्रित आन्दोलनरत रुबी खानसहितका महिला अधिकारकर्मीहरू विगत ४१ दिनदेखि पाँचौँ चरणको आन्दोलनका क्रममा काठमाडौंमा छन् । उनीहरू २०६७ सालदेखि निरन्तर न्यायका लागि आन्दोलनरत छन् ।

२०७८ असोज १ गते बाँकेदेखि हिँड्दै २० औँ दिनमा काठमाडौँ आएकी उनी न्यायका लागि काठमाडौँ आएको यो पाँचौँपटक हो । पहिलोपटक ४२  दिन अनशन बसेपछि सरकार निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्युबारे छानविन समिति गठन गर्न बाध्य भए पनि हालसम्म पनि कुर्मी र धोबीलाई न्याय दिलाउनेगरी सरकारले पहल सुरु गरेको छैन । सरकारले तत्कालीन गृहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । 

उक्त समितिले पूर्व संविधानसभा सदस्य एवं हाल बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा–३ (ख) बाट विजयी कांग्रेस सांसद बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धानका लागि सिफारिस गर्‍यो।

उक्त सिफारिसअनुसार कारबाही अघि बढाइने आश्वासन समेत सरकारले दियो । रुबीको समूहले आन्दोलन गर्दा त्यसबेला गृहमन्त्री थिए  नेपाली कांग्रेसका बालकृष्ण खाँण । त्यसपछि एकपटक नारायणकाजी श्रेष्ठ, दुईपटक रवि लामिछाने हुँदै हाल गृहमन्त्री बनेका छन् रमेश लेखक ।  तर हालसम्म पनि उक्त मुद्दा अदालत पुर्‍याइएको छैन ।  

'सरकारबाट अहिलेसम्म पनि निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत पुर्‍याउने कुनै संवेदनशिलता र जिम्मेवारी पूर्ण कार्य नदेखिनु ठूलो चिन्ताको विषय हो,' अधिकारकर्मी खानले भनिन्, 'न्यायका लागि नाङ्गो खुट्टा हातमा संविधानको किताब र न्यायको प्रतिक न्यायिक तराजु बोकेर हामी कलंकीदेखि माइतीघर मण्डलामा घाम पानी झरीमा रुझ्दै खुट्टामा फोका भएर हिडनमा समेत समस्या हुने तर निरन्तर जलुस सहित न्यायको आशमा छौँ ।' 

महिलाको मुद्दामा सरकारको यस हदसम्मको असंवेदनशीलता कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनले बताइन् ।

भएको के थियो?
रुबी खानको समूह तीन वर्षदेखि दुईवटा आपराधिक घटनामा न्यायका लागि लडिरहेको छ । दाइजोका नाममा यातना दिएर हत्या गरिएकी नकुन्नी धोबी र सम्पत्तिका नाममा दुई छोराको शंकास्पद मृत्युपछि मारिएकी निर्मला कुर्मीका न्यायका लागि । उनै कुर्मीका हत्या आरोपी हुन् मन्त्री बादशाह कुर्मी ।

२०७८ साउन ५ गते नकुन्नी आफ्नै घरभित्र मृत फेला परिन् । रामकुमार नाम गरेका व्यक्तिको तेस्रो श्रीमतीका रुपमा भित्रिएकी नकुन्नीको उनकै परिवारले हत्या गरेको आरोप रुबी र नकुन्नीका भाइ माताप्रसादको छ ।

उक्त मुद्दामा दाइजोको निउँमा रामकुमार र उनको परिवारले नकुन्नीको हत्या गरेको आरोप रुबीको छ । तर यस मुद्दामा प्रहरी संवेदनशील नभएको र अनुसन्धान नभएको आरोप उनको छ । सोही घटनामा महिला अधिकारकर्मी र स्थानीयले जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिन धर्ना दिए । तर छानबिन अघि बढेन । बरु, त्यसैबीच अर्को घटना घट्यो– बाँके परस्पुर १७ की निर्मला कुर्मीको हत्या ।

निर्मलाका श्रीमान महालु कुर्मीको २०६२ मा मृत्यु भयो । त्यसको चार वर्षपछि २०६६ मा निर्मलाले आफ्ना दुवै सन्तान १० दिनको फरकमा गुमाइन् । कुनै रोग र घटनाबिना शंकास्पद तरिकाले निर्मलाका दुवै छोराको मृत्यु भएको अभियन्ता रुबी बताउँछिन् । २०६६ माघमा निर्मलाले महिला अधिकार मञ्च बाँकेको कार्यालय पुगेर जेठाजु पर्ने बादशाह कुर्मीले आफूलाई हिंसा गरेको भन्दै उजुरी दिइन् । उजुरी दिएको पर्सिपल्ट बादशाहले निर्मलालाई लतारेर कुटपिट गरेको आरोप रुबीको छ । उक्त भिडिओ गत वर्ष सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जसमा बहालवाला प्रदेशमन्त्री बादशाह कुर्मीले एक महिलालाई लतारेर कुटपिट गरेको देखिन्छ ।

निर्मलाको नाममा ५ बिघाभन्दा बढी जमिन रहेको र त्यही जमिन हत्याउन बादशाहले उनलाई यातना दिएको रुबीको भनाइ छ । उक्त जग्गाको मूल्य हाल ६ करोडभन्दा बढी रहेको छ । 

यसैबीच एकाएक २०७५ मा निर्मला बाँकेबाट बेपत्ता भइन् । बेपत्ता नै ठानिएकी निर्मलाको दाहसंस्कार गरिसकेको तस्वीर रुबीहरूले काठमाडौंमा प्रदर्शन शुरु गरिसकेको केही महिनापछि मात्रै सार्वजनिक भएको थियो ।  कुर्मीलाई बाँके, बर्दिया, कैलाली र भारतमा लगेर बन्धक बनाई अन्तत: हत्या गरिएको आरोप अधिकारकर्मीको भनाइ छ। सोही मुद्दामा रुबीलगायत बाँकेका स्थानीय महिला अधिकारकर्मीहरूले तीन वर्षयता आन्दोलनरत छन् ।