शीर्षकहरू

सन नेपाल लाइफले ल्यायो मेडिकेयर बीमा पोलिसी, के के छन् सुविधा ?

सन नेपाल लाइफले ल्यायो मेडिकेयर बीमा पोलिसी, के के छन् सुविधा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले पहिलो पटक स्वास्थ्य सम्बन्धी बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले अन्य जीवन बीमा पोलिसीसँग थप पनि गर्न मिल्ने गरी यो पोलिसी सार्वजनिक गरेको हो ।

सस्तो बीमा शुल्कमा सहज रुपमा दाबी भुक्तानी हुने गरी पोलिसी सञ्चालनमा ल्याइएको कम्पनीले दाबी गरेको छ । छोटो प्रक्रिया र सहज कागजी प्रक्रियामा नै दाबी भुक्तानी हुने गरी सन मेडिकेयर पोलिसी ल्याएको कम्पनीको दाबी छ । 

सामाजिक उत्तरदायित्त्व भित्र रहेर कम्पनीले मानिसको अधिकतम हित हुने खालका योजना सञ्चालनमा ल्याउने कम्पनी सचेत भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए । ‘हामी व्यवसाय मात्रै हेर्दैनौ । आम मानिसको हितमा पनि हेरेका छौ । त्यही अनुसारको पोलिसी ल्याउनु पर्छ भन्ने मान्यता पनि राख्छौ,’ उनले भने । कम्पनीले नेपालको परिवेश र नेपालीको जीवनस्तर अनुसारको अन्य पोलिसीमा पनि अध्ययन गरिरहेको छ । 

सन मेडिकेयर पोलिसी भनेको के हो ?

मानिसको जीवनमा आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्याको अवस्थामा तत्काल आर्थिक राहत प्रदान गर्न कम्पनीले सन् मेडिकेयर पोलिसी जारी गरेको हो । यसले दुर्घटना तथा अन्य गम्भीर रोगहरूलाई समेत समेट्छ । 

कम्पनीबाट खरिद गरिएका अन्य जीवन बीमा योजनामा यो सुविधा थप पनि गर्न सकिन्छ । यो पोलिसी मात्रै पनि खरिद गर्न सकिने व्यवस्था छ । 

यो पोलिसी खरिदमा १ लाख रुपैयाँसम्मको बीमांकमा वार्षिक शुल्क १३९६ तोकिएको छ । ५  वर्ष देखि ६९ वर्षसम्मको व्यक्तिले यो पोलिसी खरिद गर्न सक्नेछन् । 

पोलिसी खरिद गरेका व्यक्तिलाई स्वास्थ्य समस्या भएमा दाबी पेशमा तत्काल आर्थिक राहत गरिन्छ  । 

यो पोलिसी खरिदमा शल्यक्रिया सहित अस्पतालमा रहँदा पहिलो २ दिनको लागि प्रत्येक दिन बीमांक रकमको २५ प्रतिशत तत्तपश्चात थप ५ दिन सम्मको लागि प्रत्येक दिन बीमांक रकमको १०  प्रतिशत भुक्तानी हुनेछ। 

शल्यक्रिया बिना अस्पतालमा रहँदा १० दिन सम्मको लागि प्रत्येक दिन बीमांक रकमको १० प्रतिशत भुक्तानी हुनेछ । 

सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना, एमेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, ह्दयघात, मस्तिष्कघात, विद्युतीय तथा अनय  जलन, डुबान, खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण, आन्द्रामा रगत बग्ने, कीरा÷सर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट र घाउमा संक्रमण हुने जस्ता स्वास्थ्य समस्या भएमा सन मेडिकेयरले दाबी भुक्तानी गर्नेछ । 

दाबी भुक्तानीको लागि बीमितले कम्पनीमा निवेदन दिनुपर्नेछ । बीमा लेख नम्बर उपचारको प्रकारको मिति सहित निवेदन दिनुपर्नेछ । त्यस्तै, बीमितको नागरिकताको प्रतिलिपि, इमरजेन्सी टिकट, भर्ना/डिस्चार्जको विवरण, अपरेशनको प्रेसक्रिप्सन, विशिष्ट प्रमाणको आधारमा गरिएको मेडिकल रिपोर्ट, बीमितको चेकको कपी, बैकको विवरणको कपी सहित कम्पनीको नजिकको शाखा कार्यालयमा निवेदन दिनुपर्नेछ ।