शीर्षकहरू

उर्जामन्त्रीको सक्रियतामा २७० मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिदैँ

उर्जामन्त्रीको सक्रियतामा २७० मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिदैँ

रसुवा ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०।३ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिने भएको छ । 

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रीडमा जोडिनेछ ।

लामो समयदेखि प्रसारण लाईनमा समस्या देखिएपछि उर्जामन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाईन  तथा सवस्टेशनको स्थलगत निरीक्षण गरेका थिए । सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाईन निर्माणको प्रभावकारी सम्झौता भएपनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सव स्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरुबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भएपछि उर्जामन्त्री आँफै स्थलगत निरीक्षणमा खटिएका हुन । 

मन्त्री खड्काले प्रसारण लाईन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताए। “गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनताहरु प्रतक्ष्य मारमा परेका छन्, अब हेलचक्र्याँई गर्ने ठाउँ छैन,”– उर्जामन्त्री खड्काले भने ।
 
नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत खेर गइरहेको थियो । 

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत त्रिशुली थ्री बी हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको मातातीर्थ सवस्टेशनमा पु¥याइनेछ ।  
    
चिलिमे हवदेखि त्रिशुली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाईनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किट लाईन (२४ वटा टावर) रहेका छन् । चार सर्किट लाईन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशुली एक ९२१६ मेगावाट०बाट उत्पादन हुने विद्युतलाई त्रिशुली थ्रि वी हवसम्म जोडि राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत प्रवाह गरिनेछ । 

प्रसारण लाईनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भएतापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मीटर लम्बाई),  मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मीटर लम्बाई)मा तार तान्ने कार्य भईरहेको छ । 

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भएपनि प्रसारण लाईन निर्माणको कामलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धीत जलविद्युत आयोजनाको टेस्टिङ कमिसनिङ कार्यसमेत सम्पन्न गर्न निर्देशन दिए । जलविद्युत आयोजना र प्रसारण लाईन निर्माणको तालमेल नमिल्दा दैनिक करोडौँ रुपैँया राज्यले नोक्सानी ब्यहोरीरहेको उनको भनाई थियो ।
      
निरीक्षणका क्रममा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधीसभा सदस्य ईन्जिनीयर मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रीडमा जोड्न सरकारले पहल गर्नुपर्ने बताए ।
 
निरीक्षणका क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाईन तथा सवस्टेशनको स्थलगत निरीक्षण गरे ।