काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई नेपाली हास्य क्षेत्रमा ‘मह जोडी’ भनेर चिनिन्छ । पाँच दशकभन्दा बढी समय विभिन्न माध्यमबाट मनोरञ्जन क्षेत्रमा आम नेपाली दर्शक लाई हास्यव्यङ्ग्य मार्फत हसाउँदै आएका मह जोडीले नेपालमा दश वर्षपछि मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक मह जात्रा नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका छन् ।
प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ । यस प्रहसनको मुख्य विशेषता हास्य व्यङ्ग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु हो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितीहरुलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ ।
दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्यव्यङ्ग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरूलाई सहाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ । यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुनेछ । जसले दर्शकहरूलाई हँसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ ।
यो प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुनेछ, जसले गर्दा दर्शकहरूलाई हाँस्दै सोच्न बाध्य बनाउनेछ । “मह जात्रा” मह सञ्चार र सुश्री मिडिया प्रालीको सहकार्यमा कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने टिकट खल्ती एप मार्फत खरिद गर्न सकिनेछ ।